मधानी महायज्ञमा कलाकारको प्रस्तुति हेरेर रमाए दर्शक

0
Shares

रौतहट ।

हाशिवरात्रीको अवसरमा मौलापुर नगरपालिकाले आयोजना गरेको मधानी महायज्ञमा भारतीय कलाकारको बाक्लो उपस्थिति तथा प्रस्तुतिमा सांस्कृतिक कार्यक्रम गरिएको छ। कलाकारको प्रस्तुति हेर्ने दर्शकको ठूलो भीड लागेको थियो। अत्यधिक भीडका कारण दर्शकले बाँसका हाँगामा बसेर समेत कार्यक्रम हेरेका थिए।

मौलापुर नगरपालिकाको पतौरामा रहेको पुरातात्विक महत्त्व बोकेको महादेव मन्दिरको प्रचार गर्ने हेतुले गएको तीन वर्षदेखि लगाइँदै आएको मधानी महायज्ञमा यसको महत्व र किंवदन्तीभन्दा पनि भारतीय कलाकारको उपस्थितिमा सांस्कृतिक कार्यक्रम गरिँदै आएको छ।

स्थानीय कला र संस्कृतिभन्दा पनि भारतीय कलाकार उपस्थित गराएर मौलापुर नगरपालिकाले दर्शकलाई आकर्षित गर्दै आएको छ। कार्यक्रममा भारतको भोजपुरी सुपरस्टार गायक खेसारीलाल यादव र सदावहार भोजपुरी नायिक रानी चटर्जीका साथै नेपाली सिनेमाका सुपरस्टार राजेश हमाल र टिकटक स्टार सामिया पोखरेलको प्रस्तुतिले दर्शकको ध्यान आकर्षित गरेको थियो।

२०७६ सालमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुभारम्भ गरेको मधानी महायज्ञलाई निरन्तरता दिँदै आएको छ। नेपाल सरकारले देशको सय पर्यटकीय गन्तव्यमा मौलापुरको पतौरामा रहेको पुरातात्विक महादेव मन्दिरलाई राखेको छ। महादेव मन्दिरको अवशेष बुद्धकालीन भएको मौलापुर नगरपालिकाले जनाएको छ।

मधानी महायज्ञको उदघाटन गर्न नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली आउने कार्यक्रम तय भए पनि अन्तमा उनी कार्यक्रममा सरिक भएनन्। कार्यक्रममा पूर्वमन्त्री टोपबहादुर रायमाझीका साथ पूर्वमन्त्री प्रभु साहसहित अन्य राजनीतिकर्मीको उपस्थिति रहे पनि सहभागी दर्शक नेताको भाषणमा भन्दा पनि कलाकारको कला प्रर्दशनीमा रमाएका थिए। नेताका भाषण सुन्न खेसारीलालले दर्शकलाई अनुरोध गर्नुपरेको थियो।