फिफा र यूईएफएद्वारा रूसी टिम प्रतिबन्ध



लन्डन, (एजेन्सी) ।

विश्व फुटबलको सर्वोच्च संस्था फिफा र युरोपियन फुटबल महासंघ यूईएफएले रसियाको फुटबल टिममाथि प्रतिबन्ध गर्ने घोषणा गरेको छ । सन २०१८ को विश्वकप फुटबलको आयोजक राष्ट्रमाथि फिफा र युरोपियन फुटबल महासंघ गरी दुई निकायले एकसाथ अनिश्चितकालका लागि प्रतिबन्ध लगाउने निर्णय गरेका हुन् । फिफा र युईएफएले अफिसियल विज्ञप्ति जारी गर्दै अर्को सूचना नभएसम्मका लागि रसियाविरुद्ध सबैखाले फुटबलमा प्रतिबन्ध लगाएको हो ।

रसियाले युक्रेनमाथि आक्रमण शुरु गरेपछि युक्रेनी जनतासँग ऐक्यबद्धता जनाउँदै फिफा र युईएफएले रसियामाथि प्रतिबन्ध लगाउने निर्णय गरेको हो । यी दुवै निकायले रसिया टिमविरुद्ध अन्तर्राष्ट्रिय फुटबल मात्रै नभएर सबै क्लबलाई समेत सबैखाले प्रतियोगितामा प्रतिबन्ध लगाउने निर्णय सुनाएको छ । फिफाले आइतबार मात्रै रसिया टिमलाई राष्ट्रिय झण्डा र राष्ट्रिय गान नबजाई अन्तर्राष्ट्रिय खेल खेल्न निर्देशन दिएको थियो ।

अब फिफाको यो निर्णयपछि रसिया टिमले अर्को महिना खेल्ने विश्वकप छनोटको प्लेअफ म्याच पनि खेल्न नपाउने भएको छ । रसियाले विश्वकप छनोटका लागि पोल्यान्डस“ग प्लेअफ खेल्ने तालिका रहेको छ । सो खेलमा रसिया टिम नखेले पोलिश टिम स्वतः विजयी हुँदै अघि बढ्नेछ । सोही समूहको अर्को प्लेअफमा भने चेक रिपब्लिक र स्विडेन खेल्ने तालिका छ । युईएफएले पनि रसियाका सबै क्लबविरुद्ध प्रतिबन्ध लगाउने निर्णय गरको छ ।

यता, यूईएफएले यसअघि नै रसियामा हुने तय भएको युरोपियन च्याम्पियन्स लिगको फाइनल खेल हुने स्थान फ्रान्सको पेरिसमा सारिसकेको छ । त्यसैगरी, युरोपा लिगमा जर्मन क्लब आरबी लेइपजिग र रसिया क्लब स्पार्टाक मस्कोबीचको खेल पनि रद्द हुने र सो खेलबाट लेइपजिगलाई स्वतः विजेता घोषणा गर्ने सम्भावना छ ।

इंग्लिस टिमले पनि नखेल्ने
इंग्लिस टिमले पनि रसियासँग अनिश्चितकालका लागि कुनै पनि अन्तर्राष्ट्रिय खेल नखेल्ने निर्णय गरेको छ । रसियाले युक्रेनमाथि सैन्य आक्रमण गरेपछि बेलायतले युक्रेनका जनताको समर्थनमा उनीहरूलाई साथ दिँदै रसियासँग कुनै पनि अन्तर्राष्ट्रिय खेल नखेल्ने निर्णय गरेको हो ।

सोमबार इंग्लिस फुटबल संघले एक वक्तव्य जारी गर्दै रुसको आक्रमणको निन्दा गर्दै रूससँग कुनै पनि फुटबल नखेल्ने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्