एपीएफले जित्यो मेयर टी–२० उपाधि



काठमाडौं ।

नेपाल एपीएफ क्लबले ललितपुर मेयर महिला च्याम्पियन्ससिप टी २० क्रिकेट प्रतियोगिता उपाधि जितेको छ । एपीएफले सोमबार भएको फाइनल खेलमा सुदूरपश्चिम प्रदेशलाई ८ विकेटले हराउँदै उपाधि हासिल गरेको हो । यो विभागीय टिमको लगातार दोस्रो उपाधि पनि हो । यो सँगै एपीएफले २ लाख नगद पनि प्राप्त गर्यो । त्यस्तै सुदूरपश्चिमले १ लाख नगद हासिल गरेको छ ।

सुदूरपश्चिम टिमले १ सय १४ रनको विजयी लक्ष्य तेस्र्याएको थियो । अनुभवी खेलाडी समिटिएको एपीएफको लागि यो लक्ष्य सामान्य नै रह्यो । टिमले १५.५ ओभरमा केवल २ विकेटको क्षतिमा लक्ष्य प्राप्त गर्न सफल भयो । टिमलाई विजयी बनाउन ओपनर ब्याटर ज्योति पाण्डेले सर्वाधिक ४३ रन जोडिन् । उनले कप्तान सीता रानामगरसँग पहिलो विकेटका लागि ५८ रनको साझेदारी गर्दै जितको आधार तयार पारेकी थिइन् । जसमा सीताले १९ रनको योगदान दिइन् ।

यसपछि ज्योति इन्दु बर्मासँग दोस्रो विकेटका लागि ३९ रनको साझेदारी गर्दै आउट भइन् । उनी आउट हुँदा टिमले जित हासिल गर्न केवल १७ रनको आवश्यक थियो । इन्दुले जितको औपचारिकता पुरा गरिन् । उनी २९ रनमा नटआउट रहिन् भने रोमा थापा ५ रनमा नटआउट रहिन् । इन्दुले एक छक्का प्रहार गरेको एपीएफको ब्याटिङमा एक मात्र छक्का थियो । सुदूरकी लक्ष्मी साउद र सम्झना खड्काले १–१ विकेट लिएका थिए ।

त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय १३ रन बनाएको थियो । टिमको लागि विन्दु रावलले सर्वाधिक ३७ रन जोडिन् । पहिलो विकेटको लागि ओपनर विन्दु र रेवती धामीले ४८ रनको साझेदारी गरेका थिए । जसमा रेवतीको योगदान १० रन थियो ।

विन्दु आउट भएपछि डली भट्ट र कविता कुँवरले सानदार ब्याटिङ गरे । उनीहरूले तेस्रो विकेटको लागि महत्त्वपूर्ण ५२ रनको साझेदारी गरेका थिए । डलीले ३६ रन जोडेकी थिइन् भने कविता २४ रनमा नटआउट रहिन् । एपीएफकी सुष्मा श्रेष्ठले २ विकेट लिइन् ।

प्रतिक्रिया दिनुहोस्