लिभरपुललाई काराबाओ कपको उपाधि



लन्डन, (एजेन्सी) ।

इंग्लिस नकआउट क्लब फुटबल प्रतियोगिता इएफएल कप (काराबाओ कप) को उपाधि लिभरपुलले जितेको छ । मंगलबार राति भएको फाइनल खेलमा लिभरपुलले प्रिमियर लिगको बलियो प्रतिस्पर्धी टिम चेल्सीलाई पेनाल्टी सुटआउटमा ११–१० को गोलअन्तरमा हराएर उपाधि जितेको हो । वेम्बली रंगशालामा भएको खेल निर्धारित समयसम्म गोलरहित बराबरीमा सकिएपछि खेल थप समय हु”दै पेनाल्टी सुटआउटसम्म लम्बिएको थियो ।

निर्धारित समयमा दुवै पक्षबाट गरी तीन वटा गोल भिआरले रद्द गरिदिँदा खेलको नतिजा पेनाल्टी सुटआउटको सडन डेथबाट लिनुपरेको थियो । जहाँ दुवै टिमका एघार–एघार खेलाडीले पेनाल्टी प्रहार गर्दा जम्मा २२ पेनाल्टी प्रहार भएको थियो । तर, चेल्सीका गोलकिपरले आफ्नो पेनाल्टी गोलपोस्टको फ्रेमभन्दा माथि हानेपछि लिभरपुलले खेल ११–१० ले जित्दै उपाधि पनि जित्न सफल भयो ।

शुरुआती पाँच–पाँच पेनाल्टीमा दुवै टिमका सबै खेलाडी शतप्रतिशत गोल गर्न सफल भएका थिए । त्यसपछि सडन डेथ शुरु भयो । जहाँ लिभरपुलका ६ खेलाडीले सडन डेथमा पनि गोल गरे । तर, चेल्सीका गोलकिपर किपाले हानेको बल आकाशतिर उडाएपछि खेल लिभरपुलले ११–१० ले जित्यो । १०–१० जना खेलाडीले पेनाल्टी प्रहार गरेपछि अन्त्यमा दुवै टिमका गोलकिपरले पनि पेनाल्टी हानेका थिए ।

जसमा लिभरपुलका गोलकिपरले पहिला हानेकोमा उनले सजिलैसित गोल गरे । तर, चेल्सीका सब्सिच्युट गोलकिपर किपाले आफ्नो पेनाल्टी गोलपोस्टभन्दा माथिबाट आकाशतिर उडाइदिए । उनलाई ९० मिनेटपछि थप भएको ३० मिनेटको पनि अन्तिम समयमा प्रमुख गोलकिपर इडुआर्डो मेन्डीको स्थानमा मैदान प्रवेश गराइएको थियो । तर, किपा आफैं पेनाल्टीमा चुक्दा टिम उपाधि जित्नबाट चुक्यो । सडन डेथमा किपाले पेनाल्टी मिस गर्नासाथ लिभरपुल च्याम्पियन बन्यो ।

प्रतिक्रिया दिनुहोस्