युरोपेली संघको सदस्यता दिन युक्रेनको फेरि माग



एजेन्सी ।

रुससँग युद्ध गरिरहेको युक्रेनले युरोपेली संघको सदस्यता दिन सोमबार फेरि माग गरेको छ । युक्रेनका राष्ट्रपति भालोदिमिर जेलिन्स्किले युक्रेनलाई तत्काल युरोपियन युनियनको सदस्यता दिन फेरि माग गर्नु भएको हो ।

नयाँ भिडियो सन्देशमा उहाँले युरोपेली संघका अन्य देश र आफ्नो देशको भावना मिल्ने भएकाले संघको सदस्यता पाउनु पर्ने उल्ल्ेख गर्नु भएको छ । रुसले आक्रमण गरेको पाँचौ दिनमा उहाँले रुससँग लड्नका लागि आफूलाई सजिलो हुने र सहयोग लिन पनि सजिलो हुने भएकाले सदस्य बन्न चाहेको बताउनुभयो ।

उहाँले भिडियो सन्देशमा भन्नुभएको छ, “अहिले हामीलाई तत्काल युरोपेली संघको सदस्य बनाउनु र मिल्ने सम्मको सबै सहयोग गर्नु, हामीलाई सहयोगको खाँचो छ ।”

अहिले सबै कुराको छलफल गर्न सम्भव नभएको र आफूहरु निकै अप्ठेरो अवस्थामा रहेको पनि ४४ बर्षीय राष्ट्रपति जेलिन्स्किले सन्देशमा उल्लेख गर्नुभएको छ । युरोपेली सवै देशहरुसँग आफू मिलेर काम गर्न र सँगसगै रहन चाहेकोमा उहाँले जोड दिनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्