रियल मेड्रिडको कठिन जित



लन्डन, (एजेन्सी) ।

शीर्ष टोली रियल मेड्रिडले स्पेनिस ला लिगामा कठिन जित निकालेको छ । शनिबार राति भएको खेलमा रियलले मध्यम टोली रायो भालेकानोलाई उसैको मैदानमा १–० गोलअन्तरले हरायो । रियलको जितमा कप्तान करिम बेन्जेमाले निर्णायक गोल गरे । बेन्जेमाले खेलको ८३औं मिनेटमा भिनिसियस जुनियरको पासमा गोल गर्दै रियललाई महत्वपूर्ण जित दिलाए ।

जारी लिगका बेन्जेकाको यो १९औं गोल हो । सर्वाधिक गोलकर्ताको शीर्ष सूचीमा रहेका बेन्जेमाले नौ असिस्ट पनि दिएका छन् । दोस्रो स्थानमा रहेका भिनिसियसको नाममा १३ गोल छ ।

प्रतिस्पर्धात्मक खेलको ३९औं मिनेटमा क्यासमिरोको गोललाई रेफ्रीले भिएआरको सहायतामा अफ साइड दिएपछि रियल दबाबमा रह्यो । ६६ प्रतिशत बल पोसेसन राखे पनि रियललाई गोल गर्न निकै संघर्ष गर्नुपरेको थियो । रियललाई कडा टक्कर दिएको रायो भालेकानोले गोल फर्काउन भने सकेन । रियलका गोलरक्षक थिअबाउट कोर्टूवा ‘म्यान अफ दि म्याच’ भए ।

जितसँगै रियलको २६ खेलबाट ६० अंक पुगेको छ । दोस्रो स्थानमा रहेको सेभियाको ५१ अंक छ । सेभियाले एक खेल कम खेलेको छ । पराजित रायो भालेकानो ३१ अंक छ । अर्को खेलमा एट्लेटिको मेड्रिडले पनि सेल्टा भिगोलाई २–० गोलले हरायो । घरेलु मैदानमा एट्लेटिकोलाई जिताउन दुवै गोल रेनन लोडीले गरे ।

लोडीले ३६औं र ६०औं मिनेटमा गोल गरेका थिए । जितसँगै एट्लेटिकोले २६ खेलबाट ४५ अंक बनाएको छ । पराजित सेल्टा भिगो ३२ अंक छ । अर्को खेलमा १० खेलाडीमा समेटिएको भ्यालेन्सियाले मालोर्कालाई १–० गोलले हरायो । त्यस्तै, गेटाफे र अलाभेसले २–२ गोलको बराबरी खेल्दै समान अंक बाँडेको छ ।

प्रतिक्रिया दिनुहोस्