एफएलएफ अवार्डमा थिमलाई इन्करेजमेन्ट अवार्ड



लिम्बू भाषा र संस्कृतिमा बनेका फिल्म, म्युजिक भिडियो र पालामको संयुक्त अवार्ड एफएलएफ अवार्ड २०७८ हालै राजधानीमा सम्पन्न भएको छ। पूर्व गृह तथा रक्षामन्त्री रामबहादुर थापा ‘बादल’ को प्रमुख आतिथ्यतामा चावहिलस्थित चलचित्र विकास बोर्डमा सम्पन्न अवार्ड समारोहमा लिम्बू फिल्म थिमले इन्करेजमेन्ट अवार्ड प्राप्त गरेको छ। सञ्जीव थेबेल नवनायक र विमला खजुमले नव नायिकाको अवार्ड पाए।

लिम्बू म्युजिक भिडियोतर्फ निर्देशक सागर केरुङ, गायक संगम लिम्बू, गायिका मिलन नेवार, नायक (मोडल) विशाल सेनेहाङ, नायिका (मोडल) रूपा आङबुहाङ, गीतकार विष्णु इङनाम, संगीतकार संगम लिम्बू र छायांकनमा इशक जबेगुले अवार्ड प्राप्त गरे।

त्यसैगरी, लिम्बू पालाम विधातर्फ गायक जीवन केदेम, गायिका मनु नेम्वाङ, नायक (मोडल) भीम थेबे, नायिका (मोडल) लक्ष्मी योङहाङ, गीतकार रीता ठूली फोम्बो, संगीतमा तेज मेन्याङबो, छायांकनमा युवराज राई र निर्देशनमा हाङ चेम्जङले अवार्ड पाए। कार्यक्रममा वर्षको सबैभन्दा बढी म्युजिक भिडियो निर्देशन गर्ने उत्कृष्ट एवं सफल (ब्रेक थ्रो) अवार्ड निर्देशक लोकेन साँवाले प्राप्त गरे भने उत्कृष्ट भिडियो आन्छि मिम आफाल्ले मेसिनेन, उत्कृष्ट संस्कृति भिडियो मुकुम्लुङ, डायस्पोरा अवार्ड हेमराज अन्छाङ्बो, एप्रिसिएसन अवार्ड नरेश लिम्बू र उत्कृष्ट मातृभाषा गायनमा डीआर हाङसरुम्बाले जिते।

फाल्गुनन्द लिङदेन फिल्म्सद्वारा आयोजित कार्यक्रममा दीपाश्री निरौलालाई एफएलएफ विशेष सम्मानबाट सम्मानित गरिएको थियो भने यासेली योङहाङ र विनोद सेरेङलाई जुरी सम्मान प्रदान गरिएको थियो। निर्माता निर्देशक तथा गायक हस्त लिबाङ लाइफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गरियो। कार्यक्रममा मिलन नेवार, रुकसना लिम्बू, विशाल सेनेहाङ, नुमा शेर्पा, मनीषा राईले गीत संगीत प्रस्तुत गरेका थिए।

प्रतिक्रिया दिनुहोस्