तिर्प गाउँका ७६ घरपरिवारलाई ग्यास चुलो



वीरबहादुर बम,मुगु ।

छायाँनाथ रारा नगरपालिकाले दाउरा अभाव हुने गाउँका ७६ घरपरिवारलाई ग्यास चुलो वितरण गरेको छ। छायाँनाथ रारा नगरपालिका गरिबसँग नगर प्रमुख कार्यक्रमअन्तर्गत दाउरा नपाउने छायाँनाथ रारा नगरपालिका वडा नम्बर १३ को तिर्प गाउँका ७६  घरपरिवारलाई ग्यास चुलो वितरण गरिएको हो।

दाउराको साह्रै समस्या हुने उक्त गाउँमा एक घर एक ग्यास चुलो सहयोग गरेको नगर प्रमुख हरिजंग शाहीले बताए। ग्यास चुलो खरिदका लागि नगरपालिकाले करिब ७ लाख रूपैयाँ खर्च गरेको जनाइएको छ। अन्नभन्दा दाउराको चिन्ताले सधैँ पिरोलिने तिर्प गाउँका नागरिक ग्यास चुलो पाएपछि खुशी भएका छन्। ‘दाउराको समस्या थियो, दाउरा खोज्दै दिन बित्ने, बालबच्चाको बिचल्ली हुन्थ्यो,’ तिर्प गाउँकी औशी मल्लले भनिन्, ‘त्यो समस्याबाट यहाँका महिलाले मुक्ति पायौं।

यस्तै आफ्नो वन नभएकाले दाउराका लागि छिमेकीको वनमा जाने गरेको चाउली मल्लले बताइन्। उनले भनिन्, ‘एक भारी दाउरा ल्याउन दुई दिन लगाउनुपर्ने बाध्यता थियोु अर्की स्थानीय विष्णु एैडीका अनुसार आफ्नो वन नभएको र दाउरा ल्याउन छिमेकीको वनमा जाने गरेको भन्दै धुँवारहित ग्यास चुलो पाउँदा गाउँका सबै हर्षित भएको बताइन्। दुई वर्षअघि घरदैलो अभियानअन्तर्गत तिर्प गाउँमा जाँदा त्यस क्षेत्रका नागरिकले आफूहरूको जंगल नभएको र दाउराको समस्या प्रमुख भएको जनगुनासो गरेपछि स्थानीयलाई सिंहदरबारको अधिकार गाउँमा आएको अनुभूति दिलाउन र दाउरा खोज्दै दिन बर्वाद गर्न नपरोस्, स्वास्थ्य स्थितिमा सुधार आओस्, बालबालिकाको बिचल्ली नहोस् भनेर दाउरा नपाइने तिर्पका ७६ घरधुरी स्थानीयलाई एक घर एक ग्यास चुलो वितरण गरेको नगर प्रमुख शाहीले बताए।

नागरिकका समस्या समाधान गर्नतर्फ लागेको बताउँदै नगर प्रमुख शाहीले भने, क्रमिक रूपमा समस्या समाधान गर्नेतर्फ लागीपरेको र यस्ता कार्यक्रम अन्य गाउँमा पनि लागू गर्ने बताए। गरिबसँग नगरप्रमुख कार्यक्रमअन्तर्गत गाउँगाउँ पुगेर नगरबाट सञ्चालित योजना तथा कार्यक्रमको प्रभावकारिताबारे नागरिकका समस्याबारे जानकारी लिने, अनुगमन गर्ने, स्थानीयका गुनासा र सुझाव लिइरहेको र समस्या समाधान गर्न लागिपरेको  नगरप्रमुख शाहीको भनाइ छ।गत वर्ष पनि दाउरा नपाउने लह र लापु गाउँका ५७ घरधुरीलाई नगरपालिकाले एक घर एक ग्यास चुलो वितरण गरेको छायाँनाथ रारा नगरपालिकाले जनाएको छ।यसैबीच नगरपालिकाले कुटानी पिसानीमा समस्या भोग्दै आएका वडा नं १३ का रुगा र थार्प गाउँका समुदायलाई  कुटानी पिसानी मिल सहयोग गरेको छ।

अन्न पिस्न घण्टौँ हिँडेर गमघट्ट जान बाध्य त्यस वडा क्षेत्रका समुदायलाई सहजताका लागि बिजुली र डिजेल दुवैबाट चल्ने कुटानी पिसानी मिल प्रदान गरेको हो। अन्न कुटानी पिसानी गर्ने क्रममा हुने शारीरिक श्रमको बोझ घटाउन र समयको बचतका रुगा र थार्पका लागि  कुटानी पिसानी मिल सहयोग गरिएको नगर प्रमुख शाहीले बताए। नगरपालिकाले गाउँभरिका महिलाले अन्न पिस्नका लागि उपयोग गर्न पाउने गरी मिल प्रदान गरेको नगरपालिकाले जनाएको छ।

अन्न पिस्न घण्टौँ हिँडेर गमघट्ट जान बाध्य त्यस वडा क्षेत्रका समुदायलाई सहजताका लागि बिजुली र डिजेल दुवैबाट चल्ने कुटानी पिसानी मिल प्रदान गरेको हो। अन्न कुटानी पिसानी गर्ने क्रममा हुने शारीरिक श्रमको बोझ घटाउन र समयको बचतका रुगा र थार्पका लागि  कुटानी पिसानी मिल सहयोग गरिएको नगरपालिकाले गाउँभरिका महिलाले अन्न पिस्नका लागि उपयोग गर्न पाउने गरी मिल समेत प्रदान गरेको नगरपालिका उप पप्रमुख सुन्तला रोयाकाले बताए ।

प्रतिक्रिया दिनुहोस्