जापानी फेस्टिभलमा थपियो नेपाल



जापानी दूतावास र जापानी फाउन्डेसनको आयोजनामा दोस्रो जापानी फिल्म फेस्टिभल अनलाइन २०२२ शुरु भएको छ। फेस्टिभलमा यसपटक नेपाल पनि थपिएको छ। जापानी फिल्मको आकर्षणलाई विश्वमाझ साझा गर्ने उद्देश्यले गत सोमबार शुरु भएको अनलाइन फेस्टिभल आगामी आइतबारसम्म चल्नेछ भने फेस्टिभल अवधिभर २५ देशमा २० जापानी फिल्म निःशुल्क स्ट्रिमिङ गरिने जापानी दूतावासले जनाएको छ।

जापानी फिल्म फेस्टिभल अनलाइन २०२० नोभेम्बरदेखि मार्च २०२१ सम्म पाँच महाद्वीप र २० देशमा पहिलोपटक आयोजना गरिएको थियो। महामारीका कारण धेरै देशका फिल्म हल बन्द भएको बेलामा महोत्सवले जापानी सिनेमालाई यसअघि कहिल्यै हासिल नभएको मापनमा विश्वसँग साझा गर्न सकेको र प्रस्तुत फिल्मका साथै निर्देशकहरुसँगको विशेष अन्तर्वार्ताले महोत्सव सफल भएकाले यसपटक पनि यसलाई निरन्तरता दिइएको दूतावासले जनाएको छ।

दोस्रो महोत्सवको दायरामा नेपाल, बंगलादेश, पाकिस्तान, अर्जेन्टिना, इक्वेडर र पेरु थपिएका छन्। यससँगसँगै नेपालसहित २५ देशका दर्शकले १५ भाषामा सबटाइटलसहित २० फिल्म निःशुल्क हेर्न सक्नेछन्। महोत्सवमा सन् १९५० देखि २०२१ सम्मका विभिन्न विधाका जापानी फिल्म स्ट्रिमिङ गरिँदैछ।

प्रतिक्रिया दिनुहोस्