दोस्रो स्थानका लागि रोमाञ्चक होड



काठमाडौं ।

जारी शहिद स्मारक ए डिभिजन लिगको उपाधि मच्छिन्द्र फुटबल क्लबले सुरक्षित पारिसकेको छ । मच्छिन्द्र लिग विजेता बनेपछि अहिले दोस्रो स्थानको लागि रोमाञ्चक होड बनिरहेको छ । ११ चरणको खेलपछि दोस्रोदेखि चौथो स्थानसम्म क्रमशः मनाङ मस्र्याङदी क्लब, त्रिभुवन आर्मी क्लब र थ्रीस्टार क्लब रहेका छन् । मनाङ (२० अंक), आर्मी (१९ अंक) र थ्रीस्टार (१८ अंक) बीच अंक नजिक नजिक रहेको छ । यस्तै पाँचौ स्थानको एनआरटी (१७ अंक) तथा सातदोबाटो र संकटासँग १५/१५ अंक छ । यहाँनेर यी सबै टिमका लागि दोस्रो स्थानमा रहने बाटो खुल्ला रहेको छ ।

मनाङले उपाधि दावेदारीमा मच्छिन्द्रलाई चुनौती दिएकै थियो । तर, नवौं चरणबाट मनाङको प्रदर्शन खराब हुँदै गयो र मच्छिन्द्रले यहीबाट उपाधि सुरक्षित गर्दै लगेको थियो । ११ औं चरणमा सातदोबाटोलाई हराएपछि मच्छिन्द्र लिग च्याम्पियन बन्यो र मनाङको उपाधि जित्ने आस समाप्त भयो । तर, ११ औं चरणकै खेलमा मनाङ पराजित भयो । यसले टिमलाई दोस्रो हुन पनि धौ धौ भइरहेको छ । विभागिय टिम एपीएफसँग मनाङ ३–१ ले स्तब्ध बनेको हो । एपीएफ त्यही टिम हो, जो शुरुवाती तीन खेलमा पराजय भएको थियो । तर, अहिले यो टिमले लगातार ८ खेलमा अपराजेय यात्रा कायम गर्यो ।

जारी लिगमा २ चरणका खेल बाँकी रहेको छ । यस हिसाबले विशेषगरी चार टिम दोस्रो स्थानको होडमा अघि रहेका छन्, ती हुन् मनाङ, आर्मी, थ्रीस्टार र एनआरटी । संकटा र सातदोबाटोका लागि भने दोस्रो स्थानमा आउन अलि कठिन भएपनि गणितिय हिसाबले झिनो आसा छ । दोस्रो स्थानकै होडमा रहेका टिम मनाङ र आर्मी, आर्मी र संकटा, एनआरटी र मनाङका खेल बाँकी छ । आगामी यी खेल स्थान निर्धारण गर्न महत्वपूर्ण खेलको रुपमा हेरिएको छ ।

प्रतिक्रिया दिनुहोस्