लिभरपुलको सहज जित



लन्डन, (एजेन्सी) ।

युरोपियन च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ अन्तर्गत पहिलो लेगको खेलमा इंग्लिस क्लब लिभरपुलले सहज जित निकालेको छ । आइतबार राति भएको अन्तिम १६ को पहिलो लेगको खेलमा लिभरपुलले इटालियन क्लब इन्टर मिलानलाई उसैको घरेलु मैदानमा २–० गोलअन्तरले पराजित गरेको हो । अवे मैदानमा लिभरपुलको सहज जितमा दुई जना खेलाडीले गोल गरे । खेलको ७४औं मिनेटसम्म दुवै तर्फबाट एक गोल पनि भएको थिएन । तर, त्यसपछि लिभरपुलले दुई गोल गर्यो ।

लिभरपुलका लागि पहिलो गोल ७५औं मिनेटमा रोवर्टो फर्मिन्होले गरेर मिलानलाई झट्का दिएका थिए । त्यसपछि ८३औं मिनेटमा मोहमद सलाहले अर्को गोल थपेपछि खेल लिभरपुलले खेल २–० ले जित्यो । यो जितपछि लिभरपुलले क्वार्टरफाइनल प्रवेशको ढोका खोलेको छ । अब दोस्रो लेगको खेल अर्को महिना लिभपुलको घरेलु मैदानमा हुनेछ । सो खेलमा लिभरपुल १–० ले पराजित भए पनि कुनै फरक पर्नेछैन । लिभरपुल अर्को चरण प्रवेशका लागि मुख्य दाबेदार देखिएको छ ।

युरोपियन च्याम्पियन्स लिगअन्तर्गत नै भएको अर्को खेलमा जर्मन क्लब बायर्न म्युनिख हारबाट मुस्किलले बचेको छ । बुधबार राति भएको अन्तिम १६ को पहिलो लेगको खेलमा बायर्न म्युनिख र अस्ट्रियन क्लब रेड बुल साल्जवर्ग बराबरी खेल्दै अंक बा”डेको छ । खेलमा बायर्नले पछि परेको अवस्था उल्ट्याउंदै अन्तिम समयमा गोल फर्काएर खेल १–१ को बराबरी बनाएको हो । हार नजिक पुगेका बेला बायर्नले ९०औं मिनेटमा गोल गरेर हार पन्छाएको थियो ।

अस्ट्रियाको क्लब साल्जवर्गको घरेलु मैदानमा भएको खेलमा पाहुना टोली बनेर पहिलो लेग खेल्न पुगेको बायर्नलाई घरेलु टोलीले कडा टक्कर दिएको थियो । युवा खेलाडीले भरिभराउ साल्जवर्ग दुई वर्षअघिको च्याम्पियनविरुद्ध जितको धेरै नजिक पुगेको थियो । तर, अन्तिम समय सम्हालिन नसक्दा पहिलो लेग बराबरीमा चित्त बुझाउन बाध्य भयो ।

साल्जवर्गका लागि खेलको २१औं मिनेटमै चुक्वाबुइके अदामुले गोल गरेर बार्यनलाई झट्का दिएका थिए । त्यसपछि बार्यन लगातार बराबरी गोलको खोजीमा देखियो । तर, चाँडै खेलमा कमब्याक गर्न सकेन । बायर्नले खेलको अन्तिम समय ९०औं मिनेटमा बराबरी गोल फर्कायो । युवा खेलाडी किङ्स्ले कोमानले थोमस मुलरको पासमा गोल गरेर अवे मैदानमा बार्यनको हार पन्छाए । अन्तिम मिनेट सम्हालिन नसक्दा साल्जवर्ग जितबाट वन्चित बन्यो ।

साल्जवर्गविरुद्ध बायर्नले शुरुवाती एघारमा अधिकांश प्रमुख खेलाडी उतारे पनि अपेक्षाकृत गोल गर्न सकेन । फ्रन्ट लाइनमा रोवर्ट लेवान्डोस्की, कोमान, लिरोए साने, थोमस मुल र सर्जी गेनाब्री सहितका खेलाडी सुरुआतबाटै उत्रिएका थिए । तर, बराबरीको लागि एक गोल फर्काउन पनि ९०औं मिनेटसम्म संघर्ष गर्नुपरेको थियो । अब यी दुई टिमबीच हार–जितको टुंगो बार्यनको घरेलु मैदानमा हुने दोस्रो लेगको खेलबाटै लाग्नेछ । सो खेल अर्को महिना हुनेछ ।

प्रतिक्रिया दिनुहोस्