वर्ड फ्लु भित्रन नदिन बनेपाले थाल्यो तयारी



मोतीराम तिमल्सिना, काभ्रे । 

वर्ड फ्लु भित्रन नदिन बनेपा नगरपालिकाले व्यवसायी तथा सरकोकार वालाहरुसँग अन्तर्क्रिया गरेको छ । उपत्यकासँग जोडिएको बनेपा नगरपालिकाले साँगा र नालाबाट पशुपक्षी लिएर भित्रने र बाहिरिने सवारी साधनको चेकजाँच गर्ने तयारी गरेको छ ।

उपत्यकाका विभिन्न स्थानमा देखिएको वर्ड फ्लु काभ्रेपलान्चोक जिल्लाको बनेपा नगरपालिकामा भित्रन नदिन आवश्यक तयारी सुरु गरेका छौँ’–बनेपा नगरपालिका प्रमुख लक्ष्मीनरसिंह बादेले भन्नुभयो–‘नागरिकको स्वास्थ्य र ब्यवसायीहरुको हितका लागि सचेत छौँ ।

बनेपा नगरपालिका भित्र पशुपक्षीको व्यवसाय गर्नेहरूले तत्कालै नगरपालिका भित्र दर्ता गरी दायित्व पुरा गर्न नगर प्रमुख बादेले अनुरोध गर्नुभयो । प्रमुख प्रशासकीय अधिकृत कविराज उप्रेतीले बनेपा नगरपालिकाको तयारीले मात्रै वर्ड फ्लु नियन्त्रण असम्भव हुने बताउनु भयो ।

बनेपा नगरपालिकाले साँगा र नालामा क्वारेनटाइन राख्यो भने पनि अन्यत्र नाकाहरू खुल्ला भएकाले वर्ड फ्लु नियन्त्रण सम्भव छैन’–प्रमुख प्रशासकीय अधिकृत कविराज उप्रेतीले भन्नुभयो–‘वर्ड फ्लु नियन्त्रणका लागि नगरपालिकाले पूर्व तयारी गरिसकेको छ ।

काठमाडौ|को गोकर्णेश्वरमा केही दिन अघि वर्ड फ्लु फेला परेको भेटेरिनरी अस्पताल धुलिखेलका प्रमुख डा. मोलप्रसाद शाहले बताउनु भयो । शाहले जिल्लामा विभिन्न नाकाहरू भएकाले सचेत रहन अनुरोध गर्नु भयो । बिपी राजमार्गको मंगलटार, पनौतीको रयाले मानेदोभान, रविओपी, नाला, दोलालघाट, साँगा लगायतका क्षेत्रमा सतर्कता अपनाउनु पर्ने डा. शाहले बताउनु भयो ।

नगरपालिकाले आयोजना गरेको सरोकार वालाहरुसँगको अन्तर्क्रिया कार्यक्रममा व्यवसायीहरूले सबै क्षेत्र सचेत रहन सकियो भने मात्रै वर्ड फ्लु नियन्त्रण र भित्रनबाट रोक्न सकिने बताएका थिए । उपप्रमुख रेखा सापकोटा दाहाल, वडा अध्यक्षहरू सूर्यनारायण नापित, गौरी राउत लगायतले सीमा जोडिएको क्षेत्रमा सतर्कता अपनाउनु पर्ने बताएका थिए ।

ओहोरदोहोर गर्ने पशुपक्षीको आरडिटी तथा पिसिआर परीक्षण गरी रोग पत्ता लगाउने तथा रोग पत्ता नलाग्दासम्म पशुपक्षी बोकेर आएका सवारी साधन र पशुपक्षीहरू क्वारेन्टाईनमा राख्ने विषयमा आवश्यक छलफल र तयारी गर्नु पर्ने सरोकारवालाहरूले बताएका छन् । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले वर्ड फ्लुबाट सचेत रहन अपिल गरेको छ ।

प्रतिक्रिया दिनुहोस्