मानसिक स्वास्थ्यको संवेदनशीलतामाथि वरदान (भिडियोसहित)



मानसिक स्वास्थ्यको संवेदनशीलतामाथि बनेको सर्ट फिल्म वरदान युट्युबबाट सार्वजनिक गरिएको छ। दीपेन्द्र लामाद्वारा लिखित तथा निर्देशित फिल्ममा दयाहाङ राई र नम्रता श्रेष्ठ मुख्य भूमिकामा छन्। शुभ मिडिया होमद्वारा निर्मित फिल्म २४ मिनेटको छ।

नम्रताले २०७६ सालमा आफ्नै होम प्रोडक्सनबाट बनाएको जायरापछि यसमा अभिनय गरेकी हुन्। विषयवस्तु चित्त बुझेर आफूले यस फिल्ममा काम गरेको नम्रताले बताएकी छन्। आत्महत्या रोकथामको विषय उठाइएको फिल्मले मानसिक स्वास्थ्यको संवेदनशीलतालाई सबैले ख्याल गर्नुपर्ने सन्देश दिन्छ।

पछिल्लो समय नेपालमा आत्महत्या गर्नेको संख्या वृद्धि भइरहेको छ भने यसको दर घटाउनका लागि सरोकारवाला सरकारी निकायहरू र विभिन्न संस्थाले थुप्रै कार्यक्रम आयोजना गर्दै आएका छन्। ‘डिप्रेसनबाट गुज्रिरहेका र आत्महत्याको जोखिममा रहेकालाई परामर्श दिने काममा म बेलाबखत सहभागी हुँदै आएको छु’ नम्रताको भनाइ छ ‘समस्यासँग जुधिरहेका मानिस र उनीहरूका अभिभावक तथा साथीभाइलाई सजग गराउन यस्ता फिल्मले सहयोग गर्न सक्छ।’

दयाहाङ राई यो सर्ट फिल्ममा अभिनय गर्दा फरक अनुभव प्राप्त भएको बताउँछन्। नम्रताको उपस्थितिले फिल्मको सन्देशलाई अझ गम्भीर र प्रभावकारी बनाएको उनको भनाइ छ। ‘फिल्ममा नम्रताको नै केन्द्रीय भूमिका छ, उनलाई सघाउन पाएकोमा म खुसी छु’ दयाहाङले भने।

कोभिड–१९ पछि भएका लकडाउनले नेपालमा आत्महत्या बढेको समाचार पढेपछि आफूले वरदानको कथा लेखेको निर्देशक तथा लेखक दीपेन्द्र्र लामाले बताए। ‘आत्महत्या रोकथाममाथि विदेशमा अनगिन्ती सर्ट फिल्म बनेका रहेछन्। नेपालमा पनि यो जरुरी छ भन्ने लाग्यो र वरदानको कामलाई अगाडि बढाएँ’ लामा भन्छन्–‘फिल्मका माध्यमले दुईजनाको मात्र जीवन जोगाउन सकेँ भने पनि त्यसलाई आफ्नो कामको सफलता ठान्नेछु।

शैलेश श्रेष्ठको संगीत, शैलेन्द्र डि कार्कीको छायांकन र निमेष श्रेष्ठको सम्पादन रहेको सर्ट फिल्ममा प्रवीण खतिवडा, लुनिभा तुलाधर, जयनन्द लामा, पुष्कर गुरुङ, शारदा गिरी, सुनिता श्रेष्ठ, कृष्णभक्त महर्जनलगायत कलाकारले पनि अभिनय गरेका छन्।

प्रतिक्रिया दिनुहोस्