भाँचियो पुल, तीन ट्रक खोलाको बीचमै



संखुवासभा ।

संखुवासभाको मकालु गाउँपालिका–१ र ५ जोड्ने अरुण नदीमाथिको बेलिब्रिज पुल भाँचिँदा तीनवटा ट्रक बीचमै झुलिरहेका छन् । पुलको क्षमताभन्दा बढी सामग्री बोकेर एकैपटक तीन ट्रक तर्ने क्रममा पुल भाँचिएको थियो ।

शनिबार दिउँसो इप्सुवा हाइड्रोपावरको सामान बोकेर तीनवटा ट्रक (लोबेट) एकैसाथ बेलिब्रिज पुल तर्दा ओभर लोड भएर पुल भाँचिएको मकालु गाउँपालिका–१ का वडाध्यक्ष ओङ्दीछिरिङ शेर्पाले बताउनुभयो । उहाँकाअनुसार एउटा ट्रकमा रड र दुई वटामा ट्रनेलको होमपाइप रहेको छ ।

ती सावारीसाधन भाँचिएको पुलको मध्यभागमा पुलमा अल्झिएको अवस्थामा छ । पुल भाँचिएर नदी छोए पनि भाँचिएको भागबाट तीनवटै ट्रकबाट सामान निकाल्न समस्या भएको छ । ट्रक चालक र सहचालकलाई स्थानीयले उद्धार गरेका थिए । पुलसहित तीनवटै ट्रक नदीमै खसेको भए पनि पुलमा ट्रकहरु अल्झिएकाले तत्काल नदीले नबगाउने वडाध्यक्ष शेर्पाले बताउनुभयो ।

पुलको भारबहान क्षमताभन्दा बढी लोड भएकै कारणले पुल भाँचिएको संखुवासभा प्रहरी नायव उपरीक्षक लालध्वज सुवेदीले बताउनुभयो । पुलको क्षमता ३० टन रहेकोमा एकैपटक ३ वटा मालबहाक ट्रक पुल तर्दा ६९ टन क्षमता पुगेकाले दुर्घटना भएको उहाँको कथन छ । उक्त पुल इप्सुवा हाइड्रोपावर कम्पनीले निर्माण गरेको हो । पुलको लम्बाइ ५४ मिटर रहेको छ । उक्त पुल ०७५ साल फागुन २४ गते एक नम्बर प्रदेशका तत्कालीन प्रदेश प्रमुख गोविन्द तुम्बाहाम्फेले उद्घाटन गर्नुभएको थियो ।

पुल भाँचिएपछि मकालु गाउँपालिकाको जिमी गाउँ र आमराङ, वलुङका स्थानीय बासिन्दालाई सदरमुकाम र गाउँपालिका कार्यालय आउन–जान समस्या भएको छ । ९७.२ किलोवाट निर्माणाधीन इप्सुवा हाइड्रोपावरको निर्माणमा समेत समस्या भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्