निरीक्षण नगर्दा सञ्चालनमा आएन ट्रायल सेन्टर



डोटी ।

पुरानो क्षेत्रीय सदरमुकाम दिपायलस्थित राजपुरमा निर्माण सम्पन्न भएको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को ट्रायल सेन्टर सञ्चालनमा आउन सकेको छैन । सम्बन्धित निकायले निरीक्षण नगर्दा उक्त सेन्टर सञ्चालनमा आउन नसकेको हो ।

दुई वर्षभन्दा बढी समय लगाएर निर्माण सम्पन्न भएको उक्त सेन्टर सरोकारवाला निकायको हेलचेक्र्याइँका कारण हालसम्म सञ्चालनमा नआएको भन्दै नागरिक आक्रोशित बनेका छन् । सञ्चालनमा नआउँदा उक्त सेन्टर हाल अल्पत्र जस्तै छ ।तत्कालीन सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री पठानसिंह बोहराले २०७५ साल चैत १७ गते शिलान्यास गर्नुभएको उक्त ट्रायल सेन्टरको २०७६ जेठ मसान्तभित्र भौतिक संरचना निर्माण गरिसक्ने र असार महिनादेखि ट्रायल सेन्टर सञ्चालन गर्ने लक्ष्य राखिएको थियो ।

तर, निर्माणको जिम्मा पाएको निकाएले दुई वर्षभन्दा बढी समय लगाएर निर्माणकार्य सम्पन्न गरे पनि अहिले उक्त सेन्टरको निरीक्षण तथा काम शुरु गर्न अनुमति नदिएका कारण सञ्चालनमा आउन नसकेको दिपायल सिलगढी नगरपालिका–४ राजपुरका नरेन्द्र शाहले बताउनुभयो । ‘हामी लाइसेन्सका लागि हजारौं खर्च गरेर कैलाली पुग्नुपरेको छ, आफ्नै घर छेउमा ट्रायल सेन्टर निर्माण भएको छ, तर सञ्चालनमा नआउँदा समस्या भयो ।’ –उहाँले भन्नुभयो ।

यहाँका पहाडी जिल्ला अछाम, बाजुरा तथा डोटीका नागरिकको सहजताका लागि उक्त ट्रायल सेन्टर निर्माण गरिएको हो । प्रदेश सरकारको ३७ लाख ८१ हजारको लागतमा निर्माण सम्पन्न भएको उक्त ट्रायल सेन्टर सञ्चालनमा नआउँदा यहाँका नागरिकलाई समस्या भएको राजपुरका अर्का स्थानीय कर्णबहादुर कठायतले बताउनुभयो । ‘करोडौं खर्च गरेर ट्रायल सेन्टर निर्माण भयो, सञ्चालनमा आएन । योभन्दा दुःखको कुरा अरू के होला ।’ – उहाँको भनाइ छ । भौतिक पूर्वाधार मन्त्रालयले समयमै उक्त ट्रायल सेन्टरको निरीक्षण गरेर निर्णय नदिँदा समस्या भएको यातयात व्यवस्था कार्यालय दिपायल राजपुरले जनाएको छ ।

ट्रायल सेन्टर निर्माण भइसकेको जानकारीसहित निरीक्षण गरिदिन गएको साउन ५ गते मन्त्रालयलाई पत्र पठाएको भए पनि उक्त पत्रको कुनै जवाफ नआएका कारण सञ्चालन गर्न नसकिएको निमित्त प्रमुख भरत नेपालीले बताउनुभयो । उहाँ भन्नुहुन्छ– ‘ट्रायल सेन्टर निर्माण भइसकेको र निरीक्षणका लागि हामीले साउन महिनामै पत्र पठाएका छौं, तर निरीक्षणका लागि प्राविधिक टोली नआएका कारण काम सञ्चालन हुन सकेको छैन ।’ नेपालीका अनुसार भौतिक संरचनाको निरीक्षण भएपछि मात्रै ट्रायल लिने अनुमति प्राप्त हुनेछ र सवारी चालक अनुमतिपत्रको प्रक्रिया शुरु हुन्छ ।

उता भौतिक पूर्वाधार विकास मन्त्रालयका यातायात क्षेत्रका शाखा अधिकृत मोहनचन्द्र जोशीले कामको लोड बढी भएका कारण दिपायलको राजपुरमा निर्माण सम्पन्न भएको ट्रायल सेन्टरको निरीक्षण गरी अनुमती दिन नसकिएको बताउनुभयो । चाँडै निरीक्षण गरी केही महिनाभित्रै सञ्चालनका लागि अनुमति दिने उहााको कथन छ ।

यतिमात्र नभई यातायात व्यवसायीको अनुमतिपत्र नवीकरण गर्नका लागि राजपुरमा यातायात व्यवस्था कार्यालय स्थापना गरिए पनि आवश्यक जनशक्ति नहुँदा उक्त काम पनि सुचारु हुन सकेको छैन । कार्यालयमा तोकिएका दरबन्दीअनुसारका कर्मचारी नआउँदा काम गर्न निकै सकस भएको निमित्त कार्यालय प्रमुख नेपालीले गुनासो गर्नुभयो । उहाँले थप भन्नुभयो– ‘यातायात व्यवस्था कार्यालय स्थापना गरियो तर तोकिएका दरबन्दी अनुसारका कर्मचारी पठाइएन अनि कसरी काम गर्नु ।’

प्रतिक्रिया दिनुहोस्