मनाङका घर पुनर्निर्माण हुँदै



लमजुङ । 

मनाङका नासों गाउँपालिका–१ तालगाउँमा गत जेठ र असारमा आएको बाढी–पहिरोबाट क्षति भएका घरको पुनर्निर्माण थालिएको छ ।

प्रदेश सरकारबाट प्राप्त भएको राहत रकमबाट लाभग्राहीले धमाधम आवास निर्माण गर्न थालेका हुन् ।मनाङका प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यका अनुसार घर पुनर्निर्माणका लागि राहत स्वरूप नासों गाउँपालिकाले प्रतिपरिवार १ लाख र गण्डकी प्रदेश सरकारबाट २ लाख उपलब्ध गराइसकेको छ ।

बनाउन नेपाल सरकारबाट किस्ताबन्दीमा ५ लाख र जग्गा नहुनेलाई गाउँपालिकाको सिफारिसमा थप ३ लाख उपलब्ध गराइने उहाँको भनाइ छ ।सम्बन्धित घरमूलीसँग यथाशीघ्र घर बनाउने सम्झौता गरी सोको जानकारी जिल्ला प्रशासन कार्यालयमा पठाउन मनाङको नार्पाभूमी गाउँपालिका, ङिस्याङ गाउँपालिका, चामे गाउँपालिका र नासों गाउँपालिकालाई पत्रसमेत पठाइएको आचार्यले बताउनुभयो । मनाङका क्षति पुगेका ६१ घर–परिवारलाई २ लाखका दरले राहत वितरण गरिसकेकोे छ । नासों गाउँपालिकाको ३९ घरपरिवार, चामे गाउँपालिकाको ९ घरपरिवार, नार्पाभूमि गाउँपालिकाको ७ घर–परिवार र मनाङ ङिस्याङ गाउँपालिकाको ६ घर–परिवारलाई २ लाखका दरले राहत वितरण गरिएको छ ।

मनाङमा पुनर्निर्माणका लागि केन्द्र सरकारले ६० प्रतिशत, प्रदेश सरकारले ३० प्रतिशत र स्थानीय तहले १० प्रतिशत रकम उपलब्ध गराउने प्रजिअ आचार्यले बताउनुभयो । प्रदेश सरकारबाट जिल्लाभरका ७४ लाभग्राहीका लागि १ करोड ४८ लाख रुपियाँ बजेट आएको छ । प्रदेश विपद् व्यवस्थापन नियमावलीअनुसार १ लाख रुपियाँ र हिमाली जिल्लाको हकमा सरकारले विशेष प्रभावित क्षेत्र घोषणा गरेकाले थप १ लाख गरी २ लाख रुपियाँ आएको हो ।

सिरानतालको ७ घरसहित तालको ६० वटा घर डुबानमा परेको नासों गाउँपालिका–१ का अध्यक्ष झलकबहादुर गुरुङ बताउनुहुन्छ । गाउँपालिकाभित्रका ८२ घरधुरीमा बाढी–पहिरोले क्षति पु¥याएको छ । यसमा पूर्ण क्षति भएका ४४ घर छन् । आंशिक क्षति तर उच्च जोखिमका १५ घर छन् ।

प्रतिक्रिया दिनुहोस्