प्रशान्त क्षेत्रमा अमेरिका–रुसबीच तनाव



न्युयोर्क, एजेन्सी ।

युक्रेनको तनावबारे अमेरिकी राष्ट्रपति जो बाइडेन र रुसी राष्ट्रपति भ्लादमिर पुटिनबीच फोन वार्ता विफल भएसँगै प्रशान्त क्षेत्रमा रुस र अमेरिका अर्को द्वन्द्वमा संलग्न रहेको विवरण सार्वजनिक भएको छ ।

प्रशान्त क्षेत्रमा आफ्नो पानीभित्र नौ सेनाको जहाजले अमेरिकी पनडुब्बीलाई लखेटेको रुसले दाबी गरेको छ । तर, रुसको स्वामित्वमा रहेको समुद्रमा सैन्य कारबाही भएको विषयलाई अमेरिकाले अस्वीकार गरेको छ । अमेरिकाले अन्तर्राष्ट्रिय कानुन उल्लंघन गरेको र राष्ट्रिय सुरक्षा खतरा निम्त्याएको रसियाले आरोप लगाएको छ ।

युक्रेनको सीमा नजिक रसियाली सेनाको परिचालनलाई लिएर मस्को र वासिङ्टनबीच द्वन्द्व बढिरहेका बेला प्रशान्त क्षेत्रमा प्रतिद्वन्द्वी देशबीच अर्को तनाव बढेको हो । नौ सेनाको जहाजले दिएको आदेशलाई पनडुब्बीले अस्वीकार गरेपछि द्वन्द्वको स्थिति आएको रसियाली रक्षा मन्त्रालयलाई उद्धृत गर्दै इन्टरफ्याक्स समाचार संस्थाले जनाएको छ । तर, ती सबै आरोप अमेरिकाले खण्डन गरेको छ ।

एउटा विज्ञप्तिमा अमेरिकी सेनाका प्रवक्ता क्याप्टेन काले रेन्सले भनेका छन्– ‘उनीहरुको स्वामित्वमा रहेको समुद्रमा सैन्य कारबाही भएको भन्ने विषयमा कुनै सत्यता छैन । हाम्रो पनडुब्बी रहेको निश्चित स्थानबारे म टिप्पणी गर्न गर्ने छैन् । तर, अन्तर्राष्ट्रिय पानीमा हामीले सुरक्षित ढंगले अगाडि बढ्ने छौं ।’

प्रतिक्रिया दिनुहोस्