गण्डकी प्रदेशस्तरीय महोत्सवमा १२ नाटक



पोखरा ।

कोरोना महामारीका कारण रोकिएको दोस्रो संस्करणको गण्डकी प्रदेशस्तरीय विद्यालय नाटक महोत्सव फागुन १३ गतेबाट हुने भएको छ।

फागुन १६ गतेसम्म चल्ने महोत्सवका लागि गण्डकी प्रदेशका ८ जिल्लाका १२ नाटक छनोट भएका छन्। महोत्सवको लागि प्राप्त कुल २४ नाटक मध्येबाट पहिलो चरणमा १६ नाटक छनोट गरिएको थियो। छनोट भएका १६ नाटकबाट अन्तिम चरणको लागि १२ नाटक छनोट गरिएको तथा पोखरा थिएटरको गन्धर्व नाटकघरमा हरेक दिन ३ नाटकका मञ्चन गरिने महोत्सव संयोजक पोखरा थिएटरका अध्यक्ष परिवर्तनले जानकारी गराए।

नाटक छनोटका लागि पौष २६ गतेबाट माघ २ गतेसम्म विभिन्न जिल्लामा गएर अवलोकन गरिएको थियो। अन्तिम चरणमा १० नाटक छनोट गर्ने भनिए पनि नाटकको प्रस्तुतिका आधारमा प्रोत्साहनस्वरूप थप दुई नाटक छनोट गरिएको आयोजकले जानकारी गराए।अन्तिम चरणको लागि नवलपुर जिल्लाबाट सबैभन्दा धेरै तीन नाटक छनोटमा परेका छन्। जसमा लीलाबहादुर भण्डारीको लेखन तथा निर्देशनमा कुमारी प्राविको हराएको खुशी, खगराज सापकोटाको लेखन तथा निर्देशनमा त्रिभुवन बाल माध्यमिक विद्यालयको जिम्मेवार कोरु र अनामिका सापकोटाको लेखन तथा कमला कँडेलको निर्देशनमा बरचुली माध्यमिक विद्यालयको सक्षम छात्रा शीर्षकको नाटक रहेका छन्।

कास्कीबाट दुई नाटक छनोटमा परेका छन्। जसमा मनोज अधिकारीको लेखन तथा सोनिया कार्की खत्रीको निर्देशनमा भानुभक्त आवासीय माध्यमिक विद्यालयको शान्तिको अशान्ति र सुनीता ज्ञवालीको लेखन तथा निर्देशनमा धर्मस्थली आधारभूत विद्यालयको आरोह अवरोह शीर्षकको नाटक रहेका छन्। त्यस्तै, लमजुङ जिल्लाबाट भरत रानाको लेखन तथा निर्देशनमा युनिभर्सल एकेडेमीको धनबहादुर र सूर्य बहादुर केसीको लेखन तथा पशुपति न्यौपानेको निर्देशनमा विद्याज्योति माध्यमिक विद्यालय सुन्दरबजारको जिउँदा लासहरू, तनहुँबाट टुकादेवी पौडेलको लेखन तथा निर्देशनमा पञ्चमुनिदेव माध्यमिक विद्यालयको नाम बिनाको चिर्कटो, गोरखाबाट अनिता देसाईको लेखन तथा सुरेन्द्र देवकोटा नाट्य रूपान्तरण एवं निर्देशनमा शक्ति माध्यमिक विद्यालयको एक समर्पित छोरा, म्याग्दीबाट बेनी सामुदायिक माध्यमिक विद्यालयको कर्ण बस्यालको लेखन र रामचन्द्र पौड्यालले निर्देशनमा बालविवाह, बाग्लुङबाट जीवननाथ शर्मा रेग्मीको लेखन तथा अर्जुन थापाको निर्देशनमा कालीगण्डकी आवासीय माध्यमिक विद्यालयको विदेसिनु पर्दाको पीडा, पर्वतबाट मीना रेग्मीको लेखन र रेजिना मल्लको निर्देशनमा न्यु होराइजन आवासीय माध्यमिक विद्यालयको मेरो समाजमा नारी छनोट भएका छन्। नाटक छनोटका लागि कलाकार प्रकाश घिमिरेको संयोजकत्वमा निर्देशक तथा कलाकार माओत्से गुरुङ र कलाकार प्रमिला तुलाचन निर्णायक रहेका थिए।

प्रतिक्रिया दिनुहोस्