नयाँ भर्सनमा फूलको थुंगा



अभिनेत्री, निर्मात्री तथा निर्देशक झरना थापाद्वारा निर्देशित फिल्म ए मेरो हजुर–४ को शीर्ष गीत सार्वजनिक गरिएको छ।
आगामी वैशाख १ गतेदेखि अल नेपाल रिलिज हुने फिल्मको शीर्ष गीत शुक्रबार राजधानीमा आयोजित एक समारोहबीच सार्वजनिक गरिएको हो।

फिल्ममा ए मेरो हजुर नामक उनकै होम प्रोडक्सनबाट बनेको पहिलो संस्करणको गीत फूलको थुंगा हौ किलाई नै शीर्ष गीत बनाइएको छ। नयाँ भर्सनमा तयार पारिएको गीतमा रवि मल्लको शब्द रचना र कल्याण सिंहको संगीत रहेको छ। गीत सुगम पोखरेल र अस्मिता अधिकारीले गाएका छन्। ए मेरो हजुरको पहिलो संस्करणमा यो गीतमा स्व.

श्रीकृष्ण श्रेष्ठ र झरना थापाले नृत्य गरेका थिए, ए मेरो हजुर–४ मा यसका मुख्य कलाकार अनमोल केसी र सुहाना थापालाई रोमान्टिक मुद्रामा प्रस्तुत गरिएको छ। आकर्षक दृश्यमा खिचिएको गीतको नृत्यमा रामजी लामिछानेको कोरियोग्राफी रहेको छ। बुढासुब्बा डिजिटलको युट्युबबाट सार्वजनिक भएको गीत आइतबारसम्म ११ लाख ८० हजारले हेरिसकेका छन्।निर्देशक झरना थापाले फिल्म छायांकनका क्रममा दुःख झेले पनि राम्रो फिल्म बनाउने कोशिस गरेको बताइन्।

निर्माता सुनीलकुमार थापाले फिल्ममा पर्यटकीय गन्तव्य समेटेर विश्वमा परिचित गराउने कोशिस गरेको बताए। नायक अनमोल केसीले फिल्मको विषयमा एक सपना देखेको र सपनामा अभिनेता स्व। श्रीकृष्ण श्रेष्ठले राम्रो गरिरहेका छौ, राम्रो गर भनेको सुनाए। चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले नेपाली फिल्मलाई पहिलो प्राथमिकतामा राखेर रिलिजको मौका दिने जनाए। ‘फिल्म बनाउने पनि नेपाली, फिल्म रिलिज गर्ने प्रदर्शक पनि नेपाली, वितरक पनि नेपाली, कलाकार पनि नेपाली भएपछि नेपाली फिल्मलाई पहिलो प्राथमिकतामा राख्नुपर्छ। वैशाख १ गते दुई ठूला हिन्दी फिल्म रिलिज भए पनि नेपाली फिल्मले राम्रो स्थान पाउँछ’ दाहालको भनाइ थियो।

सुनीलकुमार थापा प्रोडक्सनको ब्यानरमा सुहाना इन्टरटेनमेन्टद्वारा प्रस्तुत फिल्ममा झरना थापा र स्व। छेतेन गुरुङको कथा, झरना थापा, छेतेन गुरुङ, मन्दीप गौतम, बाबुराम दाहाल, प्रतीक पौडेल, उपकार पाण्डे र माधव शर्माको पटकथा तथा संवाद रहेको छ। फिल्ममा छायांकन निर्देशन सञ्जय लामा र सम्पादन मित्र डी गुरुङको रहेको छ।

प्रतिक्रिया दिनुहोस्