चेल्सी क्लब विश्वकपको फाइनलमा



लन्डन, (एजेन्सी) ।

इंग्लिस क्लब चेल्सी फिफा क्लब विश्वकपको फाइनलमा प्रवेश गरेको छ । बेल्जियन फरवार्ड रोमेलु लुकाकुको निर्णायक गोलमा चेल्सी फिफा क्लब विश्वकपको फाइनलमा प्रवेश गरेको हो । चेल्सीले साउदी अरेबियाको क्लब हिलाललाई १—० गोल अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । मोहम्मद विन जायद स्टेडियम आवुधाबीमा बुधबार राति भएको खेलमा रोमेलु लुकाकुले पहिलो हाफमा गरेको गोल नै चेल्सीको जितमा पर्याप्त बन्यो ।

खेलको ३२औं मिनेटमा लुकाकुले गोल गर्दै चेल्सीलाई १–० को अग्रता दिलाएका थिए । अल बुराएकको क्रस डिफ्लेक्ट हुँदै फर्किएपछि काई हाभर्टजले दिएको पासमा लुकाकु गोल गर्न सफल भएका थिए । त्यसपछि चेल्सीले खेलमा अग्रता दोब्बर बनाउने केही उत्कृष्ट मौकालाई गुमाएको थियो । खेलको ४८औं मिनेटमा हाभर्टजले ६ यार्डबाट गरेको प्रहार पोस्टमा लागेर फर्कदा डिफेन्डरले क्लियर गर्दै घरेलु टोलीको संकट टारे । त्यसपछि दुवै टोलीले केही अवसर पाए पनि सदुपयोग हुन नसक्दा चेल्सी विजयी हुन सफल भयो । अब चेल्सीले उपाधिका लागि ब्राजिली क्लब पाल्मेइरसको सामना गर्नेछ ।

पाल्मेइरसले यसअघि इजिप्टको अल एहेलीलाई २–० ले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको हो । फाइनल १२ फेब्रुअरीमा हुनेछ । सोही दिन तेस्रो स्थानको लागि प्रतिस्पर्धा हुनेछ । जसअनुसार सेमिफाइनलमा पराजित अल हिलाल र अल अहलीले तेस्रो स्थानका लागि खेल्नेछन् ।

साउदीमा जारी क्लब विश्वकप फुटबलमा महादेशस्तरको कलब फुटबलको च्याम्पियन टोलीहरूले प्रतिस्पर्धा गर्ने गर्छन् । जसमा सात महादेशबाट सबैभन्दा ठूलो क्लब फुटबल प्रतियोगिताका सात च्याम्पियन क्लब यो प्रतियोगितामा सामेल हुन्छन् । युरोपियन महादेशबाट च्याम्पियन्स लिग विजेता टोलीले भने सोझै सेमिफाइनलमा प्रवेश पाउने नियम छ । चेल्सी गत सिजनको च्याम्पियन्स लिग विजेता टिमको हैसियतमा क्लब विश्वकपको सेमिफाइनलमा प्रस्तिपर्धा गरेको हो ।

प्रतिक्रिया दिनुहोस्