लामा टेन्डी स्मृति बास्केटबल हुने



काठमाडौं ।

नेपाल बास्केटबल संघको आयोजनामा लामा टेन्डी शेर्पा स्मृति खुला पुरुष तथा महिला बास्केटबल प्रतियोगिता फागुन २ गतेदेखि हुने भएको छ । प्रतियोगितामा पुरुषतर्फ १४ टिम तथा महिलामा ५ टिमको सहभागिता रहने बिहीबार आयोजित पत्रकार सम्मेलनमा आयोजक संघका कार्यवाहक अध्यक्ष भीमसिंह गुरुङले जानकारी गराए ।

पुरुषमा १ विदेशी टिम बंगलादेशको नेभी टिम पनि सहभागी हुने प्रबल सम्भावना रहेको प्रतियोगिता संयोजक विकास शाहीले जानकारी दिए । नेभी टिम २०२१ को क्लब च्याम्पियन टिम भएको आयोजकले जनाएको छ ।

पुरुषतर्फ सहभागीलाई ४ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने छ । महिलातर्फ राउन्ड रोविन लिग पद्धतिमा खेल हुनेछ । शीर्ष २ स्थानमा रहनेले उपाधिका लागि पुनः खेल्नेछन् ।पुरुष/महिला दुवैमा पहिलो हुनेले ५० हजार तथा दोश्रोले २५ हजार नगद पुरस्कार पाउनेछन् । दुवै समूहका मोस्ट भेलुएबल प्लेयरलाई जनही १० हजार नगदबाट पुरस्कृत गरिनेछ । प्रतियोगिताले निरन्तरता पाउने आयोजक संघका महासचिव नरेन्द्र थापाले बताए ।

स्व. लामा बास्केटबल संघका अध्यक्ष, राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष र नेपाल ओलम्पिक कमिटीका महासचिव थिए । फागुन १२ गतेसम्म चल्ने प्रतियोगिता सञ्चालन गर्न करिब ८ लाख ५० हजार रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ । खेलहरू त्रिपुरेश्वरस्थित राखेपको कभर्ड हलमा खेलाइने छ ।

प्रतिक्रिया दिनुहोस्