एनएनआईपीए स्पोर्टस् अवार्ड फागुनमा



काठमाडौं ।

नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले आयोजना गर्ने एनएनआईपीए स्पोर्टस् अवार्ड फागुन १७ गते गर्ने बिहीबार भएको पत्रकार सम्मेलनमा आयोजकले जनाएको छ । गोदावरी नगरपालिकाको मुख्य प्रायोजनमा हुने १६औं संस्करणको अवार्ड ललितपुरस्थित बज्रबाराही मन्दिरमा आयोजना हुने संघले पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

कोभिडका कारण प्रतियोगिताहरू नभइरहेको अवस्थालाई मध्यनजर गर्दै यसपटक ओलम्पिक कमिटीबाट आधिकारिकता प्राप्त २७ खेलका खेल संघले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा देखाएको उच्च प्रदर्शनका आधारमा छनोट गरी सिफारिस गरिएको खेलाडीहरूलाई पुरस्कार प्रदान गर्ने संघले बतायो ।

अवार्डमा २७ खेल मध्येका उत्कृष्ट खेलाडी खेलाडीले १० हजारसहित ट्रफी प्राप्त गर्नेछन् । यस्तै उत्कृष्ट खेलाडीहरू मध्येबाट एक पुरुष र एक महिला सर्वोत्कृष्ट खेलाडी चयन गरिनेछ । जसले नगद १ लाख नगद पुरस्कार प्राप्त गर्नेछन् । यसैगरी, एक पुरुष र एक महिला प्रतिभाशाली खेलाडी चयन गरिने र विजयीले ५० हजार नगद प्राप्त गर्नेछन् । एक पुरुष र एक महिला उदियमान खेलाडी चयन गरी, ५० हजार नगदले सम्मान गरिनेछ ।

यसैगरी, पाका खेलाडी जसले खेलकुदमा जीवन व्यतित गर्नुका साथै खेलकुदको विकासमा योगदान पुर्याएका छन् । उनलाई गजराज आदर्श खेल व्यक्तित्व पुरस्कारबाट सम्मान गरिनेछ । यो पुरस्कार नेपालका पहिलो धावक गजराज जोशीको नाममा रहेको गजराज जोशी ट्रष्टले प्रदान गरेको रु ३५ हजार रहेको छ । एक खेल पत्रकारलाई एनएनआईपीए खेल पत्रकार पुरस्कारबाट सम्मान गरिनेछ । जसमा नगद २५ हजार रहेको छ । यस्तै, एक जना वर्ष उत्कृष्ट पारा खेलाडी सम्मान गरिनेछ । जसलाई १० हजार नगदले सम्मान गरिने आयोजकले जनायो ।

संघले सिफारिस गरिएका उत्कृष्ट खेलाडी बाहेक अन्य खेलाडीहरूको चयनका लागि संघका पूर्व अध्यक्ष एवं ओलम्पियन दीपक विष्टको संयोजकत्वमा एक छनोट कमिटी गठन गरिएको संघका अध्यक्ष दीपक श्रेष्ठले जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस्