रविले जित दिलाए पुलिसलाई



काठमाडौं ।

विभागीय टिम नेपाल पुलिस क्लबले जारी शहीद स्मारक ए डिभिजन लिगमा दोस्रो जित हात पारेको छ । बुधबार दशरथ रंगशालामा भएको खेलमा पुलिसले च्यासल युथ क्लबलाई २–१ ले हराएको हो । टिमको जितमा रवि पासवानले दुवै गोल गरेका थिए । यो पुलिसको जारी लिगमा ९ खेलमध्ये दोस्रो जित हो । यसअघि पुलिसले जावलाखेल युथ क्लबलाई हराएको थियो ।

यो नतिजापछि १० अंक जोडेको पुलिस १०औं स्थानमा उक्लिएको छ । साथै टिम रेलिगेसन जोनबाट ५ अंकले सुरक्षित समेत बन्यो । जबकी यो खेल खेल्नुअघि पुलिस रेलिगेसन जोनबाट मात्र २ अंकले सुरक्षित थियो । पुलिसका प्रशिक्षक अनन्त थापाले आवश्यक ३ अंक पाएर लिगमा दबाब कम भएको बताएका थिए ।

पुलिसको लागि रविले ३७औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । उनले नीरकुमार राईको पासमा गोल गरेका थिए । उक्त गोलको सहयोगमा पुलिसले पहिलो हाफमा १–० को अग्रता लिन सफल भएको थियो । तर, दोस्रो हाफमा च्यासलले गोल फर्काएर खेल १–१ बराबरीमा पुर्याएको थियो । च्यासलका लागि मौउसा एबागानाले पेनाल्टी अवसर गोलमा परिणत गरेका थिए ।

खेलको ५३ औं मिनेटमा पुलिसका सुमन सुवेदीले आफ्नै पेनाल्टी बक्समा विपक्षी खेलाडी रुमेश बर्तौलालाई लडाएपछि च्यासललाई पेनाल्टीको मौका मिलेको थियो । उक्त किक मौउसाले प्रहार गर्दै गोल गरे । तर, ७०औं मिनेटमा पुलिस पुन गोल गर्न सफल भयो । पुलिसका लागि फेरि एकपटक रवि नै नायक बने । उनले सुमन लामाको पासमा गोल गरेका थिए । त्यसो त च्यासलका लागि अभिषेक लिम्बूले ८२औं मिनेटमा गोल गर्न चुके । उनको हेड प्रहार क्रसबारमा ठोकिदा च्यासल बराबरीमा आउन वञ्चित भएको थियो ।

यो च्यासलको जारी लिगमा छैटौं हार हो । यो निराशाजनक नतिजाले च्यासलको तनाव अझै बढेको छ । च्यासल ९ खेलबाट ५ अंक जोड्दै रेलिगेसन जोनमा (१३ औं स्थान) यथावतै रहेको छ । च्यासलले बाँकी ४ खेलमा सकारात्मक नतिजा निकालेमा मात्रै रेलिगेसन जोनबाट उम्किन सकिनेछ । यदि, यस्तै नतिजा दोहोरियो भने च्यासल बी डिभिजनको बाटो लाग्न सक्नेछ ।

प्रतिक्रिया दिनुहोस्