एडप्याडले किन्यो प्रसारण अधिकार



काठमाडौं ।

नेपालसहित चार देशबीच हुने टी–२० आई सिरिजको नेपालमा प्रसारण गर्ने अधिकार एडप्याडले किनेको छ । एडप्याडले बुधबार एक प्रेस विज्ञप्तिमार्फत उक्त सिरिजको अधिकार किनेको जानकारी गरायो । उक्त सिरिजमा नेपालसहित आयरल्यान्ड, यूएई र ओमानले प्रतिस्पर्धा गर्नेछन् ।

एडप्याडले ग्लोबल अधिकार खरिद गरेको आईटीडब्ल्यू नामक कम्पनीसँग नेपालको लागि प्रसारण अधिकार किनेको हो । प्रतियोगिताका खेलका प्रत्यक्ष प्रसारण नेपालमा हिमालय एचडी टेलिभिजन, युट्युबमा ओएसआर स्पोर्टस् र दराज एपमार्फत हेर्न सकिने पनि जनायो ।

एडप्याडले नेपालको सर्वाधिक ठूलो कन्टेन्ट निमार्ण र खरिद कम्पनी दाबी गर्दै आएको छ । एडप्याडले यसअघि नेपाल क्रिकेट टिम जर्सी प्रायोजन, गत वैशाखमा भएको त्रिकोणात्मक टी–२० आई सिरिज, नेपाल भारतबीचको मैत्रीपूर्ण खेल, ईपीएल, भ्वाइस अफ नेपाल किड्स्, सक्किगोनी, क्राइम फाइल्स, जस्ता थुप्रै खेलकुद तथा मनोरञ्जनात्मक कार्यक्रम तथा सामग्रीहरूको निमार्ण र व्यवस्थापन गर्दै आएको छ ।

एडप्याड प्रालिका प्रबन्ध निर्देशक सुरज गिरीले प्रेस विज्ञप्तिमा उल्लेख गरेका छन्—‘कुनै नेपाली कम्पनीले विदेशी कम्पनीसँग सहकार्य गरी अधिकार किनेको यो पहिलोपटक हो । यसले अबका दिनमा पनि नेपाल सम्मिलित खेलहरू नेपाली दर्शकले हेर्न पाउने वातावरण सिर्जना गरेको छ । विगतमा वेबसाइट लाई रिफ्रेस गरी गरी स्कोर अपडेट लिनुपर्ने स्थितिबाट आज अन्तर्राष्ट्रिय स्तरको प्रसारण नेपालमा उपलब्ध गराउन पाउँदा हामी उत्साहित छौं ।’

नेपालले टी–२० विश्वकप छनोटअघि चार देश सम्मिलित टी २० आई सिरिज खेल्नेछ । नेपालले पहिलो खेल भोलि शुक्रबार घरेलु टिम ओमानसँग खेल्नेछ । त्यसपछि, नेपालले शनिबार यूएई र सोमबार आयरल्यान्डसँग खेल्नेछ । यी तीन खेलसँगै नेपालको विश्वकप छनोट तयारी पूरा हुनेछ । ग्लोबल छनोट ए मा नेपालसहित ओमान, बहराइन, क्यानडा, जमर्नी, आयरल्यान्ड, फिलिपिन्स र यूएई गरी आठ टिमले प्रतिस्पर्धा गर्नेछन् । यी टिमलाई दुई समूहमा विभाजन गरिएकोमा समूह ए मा नेपाल परेको छ । नेपालका प्रतिद्वन्द्वी टिम क्यानडा, ओमान र फिलिपिन्स रहेका छन् ।

यस्तै, समूह बी मा आयरल्यान्ड, यूएई, बहराइन र जमर्नी रहेका छन् । प्रतियोगिताको फाइनल पुग्ने दुई टिमले आगामी अक्टोबर १६ देखि नोभेम्बर १३ सम्म अस्ट्रेलियामा हुने टी–२० विश्वकपमा स्थान सुरक्षित गर्नेछन् ।

नेपाली टिम : सन्दीप लामिछाने (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, शरद भेषवाकर, आरिफ शेख, करण केसी, जितेन्द्र मुखिया, अभिनाश बोहरा, शाहब आलम, कमलसिंह ऐरी, कुशल मल्ल, विवेक यादव, सागर ढकाल, लोकेश बम र प्रदीप ऐरी ।

प्रतिक्रिया दिनुहोस्