म्यानचेस्टर युनाइटेड रोकियो



लन्डन, (एजेन्सी) ।

म्यानचेस्टर युनाइटेड पुछारको बर्नलेसँग बराबरीमा रोकिएको छ । शुरुवाती अग्रता जोगाउन नसक्दा युनाइटेडले बर्नलेसँग १–१ गोलको बराबरी खेलेको हो । टर्फ मुर बर्नलेमा मंगलबार राति भएको खेलमा युनाइटेडका लागि पउल पोग्वाले गोल गर्दा घरेलु टोलीका जे रोड्रिग्वेजले बराबरी गोल फर्काएका थिए । खेलको १२औं मिनेटमा राफयल भरानले गोल गरे पनि भीएआरबाट मान्यता नपाउँदा युनाइटेड अग्रता लिनबाट चुकेको थियो ।

खेलको १८औं मिनेटमा पोग्वाले गोल गर्दै युनाइटेडलाई १–० को अग्रता दिलाए । उनले लुका साको पासमा गोल गर्न सफल भएका थिए । तर, त्यो अग्रतालाई युनाइटेडले जोगाउन सकेन । दोस्रो हाफको शुरुमै गोल बेहोर्न पुग्यो । खेलको ४७औं मिनेटमा जे रोड्रिग्वेजले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । उनले वाउट वेगह्रसटको पासमा गोल गर्न सफल भएका थिए । त्यसपछि थप गोल निस्कन नसक्दा खेल बराबरीमा टुंगियो । प्रशिक्षक राल्फ रागनिकले भेट्रान फरवार्ड क्रिस्टियानो रोनाल्डोलाई दोस्रो हाफमा मैदान पठाए पनि उनले गोल गर्न सकेनन् । यो बराबरीपछि युनाइटेडको २३ खेलबाट ३९ अंक भएको छ । बर्नलेको २० खेलबाट १४ अंक रहेको छ ।

त्यस्तै, अर्को खेलमा वेस्ट ह्याम युनाइटेडले वाट्फोर्डलाई १–० ले पराजित गर्यो । वेस्ट ह्यामको जितमा जरोड वोवेनले ६८औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । उनले म्यानुयल लान्जिनीको पासमा गोल गरेका थिए । यो जितसँगै वेस्ट ह्यामको २४ खेलबाट ४० अंक पुगेको छ । पराजित वाट्फोर्डको १५ अंक रहेको छ ।

त्यस्तै, अर्को खेलमा एभर्टनले न्युक्यासल युनाइटेडसँग लज्जास्पद हार बेहोरेको छ । न्यूक्यासलले घरेलु मैदानमा एभर्टनलाई ३–१ ले पराजित गरेको हो । सेन्ट जेम्स पार्कमा मंगलबार राति भएको खेलमा घरेलु टोलीको जितमा रायन फ्रासेर र काइरन ट्रिपिएरले गोल गर्दा एक गोल उपहार पाएको थियो । एभर्टनले ३६औं मिनेटमा जमाल लासेलेसको आत्मघाती गोलबाट शुरुवाती अग्रता लिएको थियो । लगत्तै ३७औं मिनेटमा मासन होल्गेटले आत्मघाती गोल गरेपछि पहिलो हाफ १–१ गोलको बराबरीमा सकिएको थियो ।

खेलको ५६औं मिनेटमा रायन फ्रासेरले गोल गर्दै न्युक्यासललाई खेलमा २–१ ले अघि बढाए । ८०औं मिनेटमा काइरन ट्रिपिएरले फ्रिकिकमा सीधै गोल गर्दै न्यूक्यासलको जित पक्का गरे । ट्रिपिएरले न्यूक्यासलको लागि पहिलो गोल गर्न सफल भएका हुन् । यो जितसँगै न्युक्यासलले २२ खेलबाट १८ अंक जोडेको छ । पराजित एभर्टनको २१ खेलबाट १९ अंक छ ।

प्रतिक्रिया दिनुहोस्