बुफोनको अर्को कीर्तिमान



लन्डन, एजेन्सी ।

४४ वर्षको उमेरमा पनि फुटबल करियरलाई निरन्तरता दिइरहेका इटालीका चर्चित गोलरक्षक जियानलुइजी बुफोनले थप अर्को किर्तिमान बनाएका छन् । उनले यसपटक ‘क्लिन सिट’ मा नयाँ कीर्तिमान बनाएका छन् । ४४ वर्षीय बुफोनले इटालियन सिरी ‘बी’ मा पार्माबाट खेल्दा बेनेभेन्टोसँग गोलरहित बराबरी खेलेको खेलमा आफ्नो ५ सयौं क्लिन सिटको कीर्तिमान बनाएका हुन् । उनी व्यावसायिक खेल करिअरमा ५ सय खेलमा क्लिन सिट राख्ने पहिलो गोलरक्षकसमेत बनेका हुन् । बेनेभेन्टोसँग गोलरहित बराबरी खेल्दै उनी सो उपलब्धि हासिल गर्ने विश्वकै पहिलो गोलरक्षक बनेका हुन् ।

बुफोनले इटालियन क्लब युभेन्ट्सबाट ३ सय २२, पार्माबाट ९२, फ्रान्सेली क्लब पीएसजीबाट ९ र इटालीको राष्ट्रिय टोलीबाट ७७ खेलमा क्लिन सिट राखेका छन् । बुफोनले इटालियन लिगमा ६ सय ५३ खेल खेल्दै सर्वाधिक खेल खेल्ने कीर्तिमान पनि राखेका छन् । यसअघि, पाओलो माल्डिनीको नाममा उक्त कीर्तिमान रहेको थियो ।

पाको उमेरमा पनि लगातार खेलिरहेका उनले दोस्रो श्रेणीको पार्मासँग २ वर्षको सम्झौता गरेका छन् । बुफोनले यस सिजन सबै २१ खेलमा शुरुवात गरेका छन् । सन् १९९५ बाट व्यावसायिक करिअर शुरु गरेका बुफोनले करिअरको अधिकांश समय युभेन्टसमै बिताएका थिए ।

प्रतिक्रिया दिनुहोस्