प्रवीण महाभारतको भीमबाट लोकप्रिय कलाकार

दुःख र अभावमै छाडे संसार



लोकप्रिय हिन्दी धार्मिक टेलिसिरियल महाभारतमा भीमको भूमिका निर्वाह गरी लोकप्रियता कमाएका भारतीय अभिनेता प्रवीण कुमार सोबतीको निधन भएको छ। लामो समयदेखि स्वास्थ्य समस्यासँग जुध्दै आएका उनको ७५ वर्षको उमेरमा मंगलबार निधन भएको भारतीय सञ्चार माध्यमले जनाएका छन्।

खेलकुदमा ख्याति कमँइरहेका प्रवीणलाई सन् १९८६ मा एक पञ्जावी साथीले बीआर चोपडाले महाभारत निर्माण गर्न लागेको र भीमको भूमिकाका लागि एक हट्टाकट्टा व्यक्ति खोजिरहेको बताएका थिए। बीआर चोपडासँगको भेटघाटपछि प्रवीणले नै भीमको भूमिका निर्वाह गर्ने कुरा पक्का भएको थियो। उनले एक अन्तर्वार्तामा आफूले महाभारतमा भीमको भूमिका निर्वाह गरेकाले मानिसहरूले लाइन लागेर आफ्नो पैताला छोएर ढोग्ने गरेका कारण महाभारतले आफ्नो छुट्टै किसिमको पहिचान बनाएको बताएका थिए।

अभिनयमा आउनुअघि खेलकुदमा ख्याति कमँएका प्रवीणले एसियन खेलहरूमा भारतको प्रतिनिधित्व गर्दै चार पटकसम्म मेडल जितेका थिए। उनले सन् १९६० देखि १९७० को दशकमा एथलेटिक्समा निकै लोकप्रियता कमाएका थिए। खेलकुदमा शानदार प्रदर्शनका कारण भारत सरकारले बोर्डर सेक्युरिटी फोर्समा डिपुटी कमाडेन्टको पदमा नियुक्त गरेको थियो।

लामो समयसम्म जागिरमार्फत देशको सेवा गरिरहेका प्रवीण महाभारतमार्फत लोकप्रियता कमाएपछि आफ्नो जागिर नै छोडेर अभिनयमा लागेका थिए। उनले रक्षा, गजब, हमसे हे जमाना, हम हे लाजवाब, प्यार मोहब्बत, बिस साल बादलगायत करिब ५० हिन्दी फिल्ममा खलपात्रको अभिनय गरेर लोकप्रियता कमाएका थिए।

उनी खेलकुद तथा फिल्मका अलावा राजनीतिमा पनि सक्रिय थिए। आम आदमी नामक पार्टीबाट राजनीति शुरु गरेका उनले दिल्लीको बजीपुरबाट निर्वाचनसमेत लडेका थिए। तर, पछि उक्त पार्टी त्याग गरी भाजपामा प्रवेश गरेका थिए।

बढ्दो उमेरसँगै खराब हुँदै गएको स्वास्थ्य अवस्थाका कारण लामो समयदेखि काम नपाएका कारण उनी आर्थिक समस्यासँग जुध्दै आएका थिए भने सरकारसँग आर्थिक सहयोगको मागसमेत गरेका थिए। तर, प्रतिभा र उमेर छउन्जेल सरकारी पदमा रहेर देशको सेवा तथा कलाकारितामार्फत आममानिसलाई मनोरञ्जन प्रदान गर्दै आएका उनले जीवनको अन्तिम दिनहरू भने दुःख र अभावमा बिताउँदै अन्तिम श्वास पनि अभावमै फेरे।

प्रतिक्रिया दिनुहोस्