विकको सहारा बन्यो अचार !

0
Shares

तेह्रथुम ।

तेह्रथुमको छथर गाउँपालिका ओख्रेमा धेरैजसो हुनेखाने भन्दा हुँदा खाने घर–परिवार छन् । सानो घर । सानै परिवार । आर्थिक अवस्था पनि कमजोर । बिहानबेलुकी हातमुख जोड्न ज्याला मजदुरी कै भर । घरमा उब्जाइएको कमाइले तीन महिना पनि धान्न मुस्किल ।

यी र यस्तै परिवारमा रहेकी तेह्रथुम छथर गाउँपालिका–५ ओख्रेकी वासुकला विश्वकर्माको पारिवार पनि एक हो । विगत लामो समयसम्म गरिबीको पीडामा पिल्सिएको सो परिवारको राम्रो आम्दानीको स्रोत थिएन । गाउँमा जसोतसो साहु महाजनको बनिबुतो गरेर चार जनाको परिवार गुजारा चलेको थियो ।

जीवनका संघर्ष निकै कष्टकर नै थियो । कमाई ल्याउने र पकाई खानेमै सकसक थियो उनको परिवारलाई । तर, उनको दैनिकी फेरिएको छ । देउराली सोसाइटी र दलित सचेतना समाज ड्यासले सञ्चालन गरेका तालिममा सहभागी बनेकी उनी यति बेला व्यावसायिक अचार उत्पादनमा भ्याइनभ्याई बन्दै आएकी छन् ।

हातमा सीप नहुँदा अरूकै घरमा ज्याला मजदुरी गर्दै आएकी उनले घरमै सञ्चालन गरेको व्यवसायबाट आम्दानी लिन थालेकी हुन् । शारीरिकरूपमा समस्या रहेकी वासुकलालाई उद्योगमा काम गर्न बल नहुने भएकाले समस्या छैन । गत वर्षदेखि मात्र शुरु गरेको उद्योगबाट उत्पादन भएको अचारको माग पनि बढ्दो छ । घरायशी प्रविधिबाट अर्गानिकरूपमा अचार उत्पादन गर्ने गरेकी छिन् विकले ।

‘हातमा सीप नहुँदा दिनभर अर्काको काम गर्दा पनि खानै मुस्किल हुन्थ्यो’, उनका पति सूर्यबहादुर विक भन्नुहुन्छ– ‘तालिमले मलाई सीप मात्र दिएन, परिवार धान्न गतिलो माध्यम पनि दिएको छ । यही अचार उत्पादनले घरखर्च चलाउँदै आएको छु ।’

थोरै लगानीमा काम थलेको उनले बजारमा अचारको माग बेढेकाले लगानी थप्ने सोचमा छन् । ‘लगानी थपेर अचार व्यवसायलाई निरन्तरता दिन्छु ।’ –उहाँको भनाइ छ । छोरा वैैदेशिक रोजगारमा छन् । श्रीमान्, बुहारी र उनी घरमा छन् । व्यवसाय सञ्चालनमा उनलाई श्रीमान् र बुहारीले साथ दिने गरेका छन् । उनले उद्योगमा उत्पादन भएको अचार प्रतिकिलो १ हजार रुपियाँले बिक्री गर्ने गरेका छन् । परिवारको साथ सहयोगसँगै व्यवसाय गर्दै आएकी उनी आफ्नो व्यवसायबाट सन्तुष्ट छिन् ।

मेलिना अचार उद्योग स्थापना गरी गाउँमै व्यवसाय गर्दै आएकी विक परिवारले खास गरी अकबरेको अचार उत्पादन गर्दै आएका छन् । ‘शुरुका दिनहरूमा अचार उत्पादन गरे पनि बजार नपाउने हो कि भन्ने डर थियो । तर, यहाँ उत्पादन गरेको अचारले राम्रो बजार पाउँदा उत्साह जागेको छ । बजारमा माग बढ्दो भए पनि परिवारले मात्र उत्पादन गरेकाले धान्न सकिएको छैन ।’ –वासुकला भन्नुहुन्छ ।

अचार बिक्रीका लागि बजार खोजिरहनुपर्दैन । ग्राहकहरूले फोनमार्फत अडर गर्दै आएका छन् । ग्राहकले आफैं खोजी गर्ने गरेकाले पनि अचार बिक्री हुन्न कि भन्ने डर छैन वासुकलालाई । जिल्लाको दुर्गम गाउँमा उद्योग स्थापना गरी पूर्वका विभिन्न सहरका साथै राजधानीसम्म निर्यात गर्दै आएका छन् ।

अकबरे मात्र नभई काँक्रा, मेहेल, अमला, गाँजर, बन्दालगायतका अचार उत्पादन हुने गरेको छ । अचार उत्पादनका लागि चाहिने सामग्री गाउँमै पाउने भएकाले पनि उद्योग सञ्चालन गर्न समस्या छैन । विभिन्न संघ–संस्थाले सञ्चालन गरेका तालिमहरू खासै उपयोगमा आएका देखिँदैनन् । आफूमा इच्छाशक्ति हुने हो भने गाउँमै उद्योग स्थापना गरे रोेजगार बन्न सकिन्छ भन्ने वासुकलाले उदाहरण बनेकी छन् ।