क्यानको बैठक भैरहवामा बस्ने



काठमाडौं ।

नेपाल क्रिकेट संघ (क्यान) को बोर्ड बैठक यही माघ १३ गते भैरहवामा बस्ने क्यानका कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले बताएका छन् । बोर्ड बैठकमा क्यानको साधारणसभाको मिति तोक्नेलगायत विभिन्न विषयमा छलफल हुने भएको छ । मल्लका अनुसार क्यानको साधारण सभाको विषयदेखि खेलाडीको केही समयअघि खेलाडी र क्यानबीच सेन्ट्रल कन्ट्रयाक्टको विषयमा भएको सहमतिबारे समेत छलफल हुनेछ । यसअघि, गत पुस १४ र १५ गते धनगढीमा साधारणसभा गर्ने निर्णय गरेको थियो । क्यानले २० वटै जिल्ला संघको निर्वाचन सम्पन्न भइसकेकोले अब बोर्ड बैठकबाट साधारण सभाको नयाँ मिति तोक्ने तयारी छ ।

यस्तै, क्रिकेट खेलाडी र क्यानबीच खेलाडीको ग्रेडिङको विषयमा विवाद समाधान गर्ने सहमति भएको थियो । त्यस विषयलाई पनि साधारण सभामा छलफल गरिनेछ । क्यानले अनुशासनको विषयलाई लिएर तत्कालीन कप्तान ज्ञानेन्द्र मल्ल, दीपेन्द्र सिंह ऐरी, सोमपाल कामी र कमल सिंह ऐरीलाई कारबाही गर्दै २०२२ को शुरूको ६ महिना सेन्ट्रल कन्ट्रयाक्टमा नराख्ने निर्णय गरेको थियो । साथै, मल्ललाई कप्तानबाट हटाएर सन्दीप लामिछानेलाई नयाँ कप्तान बनाइएको थियो ।

तर, विवाद उत्कर्षमा पुगेपछि क्यानले खेलाडीसँग छलफल गर्दै कप्तानमा सन्दीपलाई यथावत् राख्ने र चार खेलाडीको सेन्ट्रल कन्ट्रयाक्टमा नराख्ने भन्ने निर्णयलाई फिर्ता लिने सहमति भएको थियो । त्यही विषयलाई बोर्ड बैठकबाट निर्णय गराउने क्यानको तयारी छ । यस्तै, बोर्ड बैठकमा विधान संशोधनका लागि गठित विधान संसोधन मस्यौदा समितिले राय पेश गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्