आयोजक टिमको खेलभर चार प्रहार मात्रै



पोखरा ।

पोखरामा बिहीबारदेखि २०औं संस्करणको ‘आहा–रारा गोल्डकप’ फुटबल प्रतियोगिता शुरु भएको छ । कोरोना महामारीका कारण विना दर्शक खेलाइएको खेलको उद्घाटनमा आयोजक सहारा क्लब पोखरा र एपीएफ फुटबल क्लब प्रतिस्पर्धा गरेका थिए । ‘ए’ डिभिजन टिम एपिएफसंग खेल्दै गरेको आयोजकको टिमको सम्भवतः सहभागिताकै सबैभन्दा खराब प्रदर्शन नै यो खेलमा रह्यो ।

सहारा क्लबले प्रतियोगिता आयोजना गर्न लागेको २ दशक पुग्दासम्म क्लबको टिम निकै बलियो रहने अपेक्षा गरिएको थियो । क्लबले एकेडेमीका बालकहरू सहित, स्थानीय खेलाडी र ए डिभिजन खेलिरहेका स्वदेशी तथा विदेशीहरूको मिश्रित टिम तयार पारेको थियो । क्लबले सोचेको भन्दा फरक खेल खेल्यो । उद्घाटन खेलमा सहाराले २–० को गोल अन्तरले हार व्यहोरेको थियो । खेल अवधिभर सहारा क्लबले विपक्षिको पोष्टमा जम्मा ४ प्रहार गर्यो । अझ त्यसमा पनि राम्रो अवसर भने २ पटक मात्रै बनाउन सफल रह्यो ।

खेलको पाँचौं मिनेटमा एपिएफको प्रहारमा सहाराका डिफेन्डर पिटर सेगुन बाधक बने । कप्तान नविन लामाको लामो पासलाई नियन्त्रणमा लिँदै प्रदीप लामाले अर्मान्ड बिडोनलाई पास दिने क्रममा सेगुनले ट्याकल गर्दै संकट टारेका थिए । खेलको १४औँ मिनेटमा आवास लामिछानेले गोल गर्दै एपीएफलाई अग्रता दिलाए । आवास र अर्मान्डको वान टु वान मुभमा अर्मान्डको पासमा आवासले २ डिफेन्डरलाई बिट गर्दै सेकेन्ड बार च्याप्दै गरेको प्रहारले पोस्टको दिशा लिएको थियो । २१ औं मिनेटमा अर्मान्डको पासमा बिकी तामाङको प्रहार बाहिरिँदा एपीएफ अग्रता दोब्बर पार्नबाट चुक्यो ।

२५औँ मिनेटमा पहिलोपटक विपक्षीको पोस्टमा बल पुर्याएको सहाराले बराबरी गर्नबाट चुक्यो । अजय मार्टिनको पासमा साहिल गुरुङको प्रहार बाहिरियो । ४२ औं मिनेटमा एपीएफका विकीको प्रहार पोष्ट नजिकैबाट बाहिरियो । सहाराले पहिलो हाफमा थप गरेको २ मिनेटमा फ्रिकिकको अवसर प्राप्त गरेको थियो । कप्तान मनबहादुर तामाङले गरेको फ्रिकिकमा अजय मार्टिनको हेड प्रहार रिबाउन्ड भएको थियो । उक्त रिबाउन्ड बलमा मुकुन्द न्युरेको प्रहार एपीएफका जापानी गोलरक्षक कुरियामा युयाले बचाउ गरे ।

५२औं मिनेटमा एपीएफका कप्तान नविनको फ्रिकिकमा अर्मान्डले हेड गरेको बल सहाराका गोलरक्षकले बाहिर गएको भन्दै छाड्दा बारमा लाग्न पुगेको थियो । ५६औं मिनेटमा प्रदीपको हेडर प्रहारलाई सहाराका गोलरक्षक अभिषेक बरालले पन्च गर्दै संकट टारे । ६० औं मिनेटमा प्रदिपले नै गोल गर्दै अग्रता दोब्बर पारे ।

५१औं मिनेटमा बिक्की तामाङको स्थानमा मैदान प्रवेश गरेका मिडफिल्डर रवि थिङको उत्कृष्ट क्रसमा प्रदीपले गोल गरे । कप्तान नवीन ‘प्लेयर अफ द म्याच’ घोषित भए । एपिएफका मुख्य प्रशिक्षक कुमार थापाले खेलाडी सोचेअनुसारको नतिजा निकाल्न नसकको प्रतिक्रिया दिए । उनले विपक्षी टोली कमजोर भएकाले सहज जित निकालेको संकेत गर्दै भने–‘स्थानीय टिम भएकाले खेलाडीहरू अन्तबाट बटुलेर ल्याएको थियो । खेलाडीबीच समन्वयको कमी हुने बुझेका थियौं त्यही भएर हामीलाई सहज भयो’ उनले त्यसैमा थपे ‘सहारा क्लबमाथि जितको ह्याट्रिक पूरा गर्यौं ।

उता सहाराकै पहिलो ब्याचका खेलाडी समेत रहेका प्रशिक्षक प्रह्लाद हिराचनले टिम कम्जोर भन्दा पनि खेलाडी बिच तालमेल नमिल्दा हार व्यहोर्न बाध्य भएको बताए । उनले विपक्षीको पोस्टमा प्रहार गर्नमा चुकेको स्विकार गर्दै १ दिनअघि मात्रै टिमले पूर्णता पाएको प्रतिक्रिया दिए ।‘छोटो समयमा टिम पूरा भयो, स्ट्राइकरमा तालमेल नमिल्दा हामीले प्रहार गर्न सकेनौं’ उनले भने । अब शुक्रबार (आज) नेपाल पुलिस क्लब र हिमालयन शेर्पा क्लबले भिड्दै छन् ।

विष्ट सहारा वर्ष खेलाडी
राष्ट्रिय टिमका फरवार्ड अञ्जन विष्टलाई सहारा क्लब पोखराले वर्ष उत्कृष्ट खेलाडी २०७८ बाट सम्मान गरेको छ । नेपाली फुटबल खेलको विकासमा लाग्ने खेलाडीको सम्मान स्वरुप क्लबले वर्षेनी प्रदान गर्दै आएको वर्ष उत्कृष्ट खेलाडी पुरस्कारबाट यो वर्ष भने विष्टलाई सम्मान गरिएको हो ।

उनलाई नगद ३५ हजार रुपैँया, दोसल्ला तथा सम्मानपत्रले सम्मान गरिएको हो । उक्त सम्मानबाट भरत खवास, किरण चेम्जोङ र सुजल श्रेष्ठ सम्मानित भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्