म्याक्सवेलको विस्फोटक ब्याटिङ



मेलबर्न, (एजेन्सी) ।

सन्दीप लामिछाने आबद्ध टिम होबार्ट हरिकेन्सविरुद्ध ग्लेन म्याक्सवेलले अस्ट्रेलियामा जारी बिग बाश टी–२० क्रिकेट लिगमा विस्फोटक ब्याटिङ गरेका छन् । मेलबर्न स्टार्सका स्टार खेलाडी म्याक्सवेलले बुधबार भएको खेलमा ६४ बलमा नटआउट हुँदै १ सय ५४ रन बनाएका हुन् । उनले ४१ बलमै शतक प्रहार गरेका थिए । उनको शानदार प्रदर्शनलाई २२ चौका र ४ छक्काले अझ आकर्षक बनाए । म्याक्सवेलको १ सय ५४ रन टी २० क्रिकेट इतिहासमा नवौं उच्चतम व्यक्तिगत रन हो भने बिग बाशको उच्चतम व्यक्तिगत रन समेत हो ।

यसअघि, उनकै साथी खेलाडी मार्कुस स्टोइनिसले बिगबाशमा १ सय ४७ रनको व्यक्तिगत कीर्तिमान राखेका थिए । यो कीर्तिमान तोडिरहँदा म्याक्सवेललाई स्टोइनिसले साथ दिइरहेका थिए । उक्त खेलमा स्टोइनिसले पनि ३१ बलमा ७५ रन जोडेका थिए । म्याक्सवेलले नेपाली बलर सन्दीपको बलिङमा १६ बलको सामना गर्दा ९ चौकासहित ४९ रन बटुलेका थिए । अस्टे«लियाली क्रिकेटरले सन्दीपको चाथो ओभरमा लगातार ५ चौका प्रहार गरेका थिए । जसको उनी विकेटविहीन हुँदै ४ ओभरमा ५२ रन खर्चन बाध्य भएका थिए ।

२ सय ७३ रनको योगफल अस्टे«लियाको बिग बाश टी–२० क्रिकेट लिगको इतिहासमै उच्चतम स्कोर समेत हो । अन्तर्राष्ट्रिय वा फ्रान्चाइजी टी २० लिगमा भने यो तेस्रो उच्चतम स्कोर हो । यो भन्दा अघि अफगानिस्तान र चेक रिपब्लिकले २०१९ मा बनाएको स्कोर रहेका छन् । अफगानिस्तानले आयरल्यान्डविरुद्ध ३ विकेटको क्षतिमा २ सय ७८ रन बनाएको टी २० इतिहासमा शीर्ष स्थानमा छ । त्यस्तै चेक रिपब्लिकले टर्कीविरुद्ध ४ विकेटको क्षतिमा २ सय ७८ रन नै बनाएपछि एक विकेट बढी पतन भएको हुँदा यो स्कोर दोस्रो स्थानमा रह्यो ।

म्याक्सवेलको शतकीय योगदानको सहयोगमा मेलबर्न स्टार्सले निर्धारित २० ओभरमा २ विकेटको क्षतिमा २ सय ७३ रन बनायो । यसको जवाफमा होबार्टले ६ विकेटको क्षतिमा १ सय ६७ रन मात्रै बनाउन सक्यो र मेलबर्नले खेल १ सय ६ रनले जित्यो ।

प्रतिक्रिया दिनुहोस्