पुलिसलाई हराएर एपीएफले जित्यो उपाधि



काठमाडौं ।

नेपाल एपीएफ क्लबले प्रधानमन्त्री कप टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । बुधबार त्रिवि मैदानमा भएको फाइनल खेलमा एपीएफले नेपाल पुलिस क्लबलाई २१ रनले हराएर उपाधि हात पारेको हो । एपीएफले १ सय ५८ रनको लक्ष्य दिएकोमा पुलिस १ सय ३६ रनमै समेटिएको हो । यो उपाधिसँगै एपीएफले ५ लाख र उपविजेतामा चित्त बुझाएको पुलिसले ३ लाख नगद पुरस्कार प्राप्त गरे ।

एपीएफले पहिले ब्याटिङ गरेर १९.५ ओभरमा सबै विकेट गुमाएर १ सय ५७ रनको योगफल बनाएको थियो । टिमका लागि कोही पनि खेलाडीले ३० रन पनि कटाउन सकेनन् । अमरसिंह रउतेलाले बनाएको २९ रन नै व्यक्तिगत उच्चतम योगदान सावित भएको थियो । माथिल्लो क्रमका ब्याटसम्यान चल्न नसकेको अवस्थामा ९ नम्बरमा ब्याटिङ गरेका अमरसिंहले शानदार ब्याटिङ गरे । उनले १५ बलको सामना गर्दै ३ छक्का र २ चौका प्रहार गरेका थिए ।

ओपनर आसिफ शेख र प्रदीप ऐरीले अघिल्लो खेलमा आर्मीविरुद्ध देखाएको लोभलाग्दो प्रदर्शन दोहोर्याउन सकेनन् । प्रदीप ७ रनमा र आसिफले ९ रन बनाएर पभेलियन फर्केका थिए । प्रदीपलाई सागर ढकालले क्लिन बोल्ड गरेका थिए । यस्तै, आसिफलाई गुलसन झाले आउट गरेका थिए । टिमका लागि लोकेश बम र सन्दीप जोराले केही योगदान दिए । लोकेश २७ रनमा र सन्दीप २४ रनमा आउट भएका थिए ।

एपीएफका लागि कप्तान सरद भेषवाकरले पनि निराश बनाए । उनी १९ रनमै सीमित भएका थिए । उनी आउट हुँदा एपीएफको स्कोर ७ विकेटको क्षतिमा १ सय ४ मा रहेको थियो । १ सय २० रन पनि कट्न नसक्ने अवस्थामा अमरसिंह र भुवन कार्कीले १ सय ४६ रनसम्म पुर्याए । भुवन १७ रन बनाएर आउट भए भने ६ रन थपेपछि अमरसिंह पनि आउट भएका थिए । पुलिसका बलरमा दीपेन्द्रसिंह ऐरी र सागर ढकालले ३ विकेट लिए भने गुलसन झाले २ विकेट हासिल गरेका थिए ।

जवाफमा पुलिसले निर्धारित २० ओभरमा ७ विकेटको नोक्सानीमा १ सय ३६ रन बनाएको थियो । पुलिसका लागि दीपेन्द्रसिंहले अर्धशतक प्रहार गरेका थिए, तर उनको योगदान सान्त्वना मात्रै भएको थियो । उनले ५४ बलमा ३ चौका र २ छक्का प्रहार गर्दै ६५ रन जोडेका थिए । ९ रन हुँदा दुवै ओपनर अमित श्रेष्ठ र पवन शर्राफ आउट भएपछि दीपेन्द्रले क्रिज सम्हालेका थिए । उनी अन्तिम ओभरसम्म टिकेपनि टिमलाई सुखद अन्त्य गर्न अक्षम भए ।

६३ रनमा चौथो विकेट गुमेको अवस्थामा दिलीप नाथले दीपेन्द्रलार्ई बलियो साथ दिएका थिए । उनीहरुले पाँचौं विकेटका लागि ५६ रनको साझेदारी गरे । यी दुबै क्रिजमा रहुन्जेल नतिजा पुलिसतिर धल्किरहेको थियो । तर, यो साझेदारी तोडिएपछि पुलिसको दुर्भाग्य हुन पुग्यो । दिलीपलाई व्यक्तिगत २३ रनमा दीपक बोहराले बोल्ड गरेका थिए । दिलीपले साथ छाडेपछि दिपेन्द्रमाथि ठूलो दवाव भएको थियो । नतिजा उनी अन्तिम २ बल फ्यालिन अघि अविनाश बोहराका शिकार भए । एपीएफका किशोर महतोले सर्वाधिक ३ विकेट लिए ।

आसिफ प्लेयर अफ द टुर्नामेन्ट
एपीएफका लागि फाइनलमा ठूलो योगदान दिन नसके पनि टिमका ओपनर आसिफ शेख प्लेयर अफ द टुर्नामेन्ट घोषित भए । त्यस्तै प्रतियोगिताको उत्कृष्ट ब्याटसम्यान पुलिसका कुशल भुर्तेल र उत्कृष्ट बलर लुम्बिनी प्रदेशका अनिल खरेल घोषित भए । प्रतियोगितामा कुल २ सय २७ रन बटुलेका आसिफले ३० हजार नगद प्राप्त गरे ।

यसैगरी, कुशल र अनिलले २०/२० हजार नगद प्राप्त गरे । कुशलले प्रतियोगिताभरि १ सय ८२ रन जोडेका थिए । उनी अस्वस्थको कारण सेमिफाइनल र फाइनल गुमाउन पुगे । अनिलले प्रतियोगिताभरि कूल १० विकेट लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्