महोत्सवका लागि नाटक मञ्चन



लमजुङ, (नेसै)।

पोखरा थिएटरमा हुने दोस्रो गण्डकी प्रदेशस्तरीय विद्यालय नाटक महोत्सवका लागि लमजुङका विद्यार्थीले नाटक मञ्चन गरेका छन्। लमजुङको बेसीशहर नगरपालिका–७ युनिभर्सल एकेडेमी, राइनस नगरपालिका ६ धमिलीकुवाको श्री शैलपुत्री नमुना माध्यमिक विद्यालय र सुन्दरबजार नगर पालिका ४ खहरे लमजुङको विद्याज्योति माविका विद्यार्थीहरूले नाटक मञ्चन गरेका हुन्।

पहिलो चरणको छनोट प्रक्रियामा गण्डकी प्रदेश भित्रका ११ जिल्ला बाट १६ स्कुल सहभागी थिए भने अब दोस्रो चरणको छनोटबाट महोत्सवमा मञ्चनको लागि जम्मा १० विद्यालय छानिने नाटक महोत्सवका निर्देशक परिवर्तनले बताए। जसअन्तर्गत लमजुङ जिल्लाका ३ विद्यालयले दोस्रो चरणमा छनोट भई निर्णायकको उपस्थितिमा नाटक मञ्चन गरेका हुन्। नाटक छनोट समितिका संयोजक कलाकार प्रकाश घिमिरे, सदस्य प्रमिला तुलाचन, महोत्सवका निर्देशक परिवर्तन र रंगकर्मी अञ्जु दाहालले नाटकको अवलोकन गरेका थिए।

बेसीशहर नगरपालिकाको युनिभर्सल एकेडेमीबाट नाटक धनबहादुर, राइनासको धमिलिकुवामा रहेको शैलपुत्री नमुना माध्यमिक विद्यालयबाट नारीको सम्मान मानवताको पहिचान र सुन्दरबजार नगरपालिकाको विद्या ज्योति माध्यमिक विद्यालयबाट जिउँदा लासहरू नाटक मञ्चन गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्