गोल्डेन ग्लोबमा द पावर अफ द डग सर्वोत्कृष्ट



फिल्म तथा टेलिभिजन जगतको चर्चित अन्तर्राष्ट्रिय अवार्ड ७९औं गोल्डेन ग्लोब अवार्ड समारोह आइतबार अमेरिकाको लस एन्जलसमा सम्पन्न भएको छ। कोरोना महामारीका बीच आयोजना गरेका कारण विवादमा घेरिएको उक्त अवार्ड दर्शक सहभागिता विना नै आयोजना गरिएको थियो। रेड कार्पेटसमेत नगरिएको समारोह टेलिभिजनबाट प्रसारण पनि गरिएन। समारोहमा फिल्म तथा टेलिभिजनका विभिन्न २५ विधामा अवार्ड प्रदान गरिएको थियो।

अवार्ड समारोहमा ड्रामाअन्तर्गत द पावर अफ द डग सर्वोत्कृष्ट फिल्म सावित भयो भने यही फिल्मबाट जेन क्याम्पेन सर्वोत्कृष्ट निर्देशक र कोदी स्मिथ म्यमकपी सह–अभिनेताको अवार्ड विजेता बने। किङ रिचार्डबाट विल स्मिथले अभिनेता तथा बिइङ द रिकार्डसबाट निकोल किडम्यानले अभिनेत्रीको अवार्ड चुमिन्। म्युजिकल तथा कमेडी विधातर्फ वेस्ट साइड स्टोरी उत्कृष्ट फिल्म सावित भयो। यही फिल्मबाट रचेल जेग्लरले अभिनेत्रीको अवार्ड चुमिन्।

मोसन पिक्चरअन्र्तगत किङ रिचर्डले उत्कृष्ट फिल्मको तथा बलफास्टले पटकथा, फिल्म नो टाइम टु डाईको नो टाइम टु डाई बोलको गीत मौलिक गीत, टिक टिक बुमबाट एन्ड्रयु गारफिल्ड सह–अभिनेता तथा वेस्ट साइड स्टोरीबाट एरियाना ड्याबिसले सह– अभिनेत्रीको अवार्ड चुमिन्।

समारोहमा उत्कृष्ट विदेशी भाषाको फिल्म जापानी फिल्म ड्राइभ माई कार बन्यो भने एनिमेटेड फिल्मको अवार्ड इन्क्यान्टोले चुम्यो, बेस्ट ओरिजिनल स्कोरको अवार्ड फिल्म डुनले पायो।
टेलिभिजन म्युजिकल कमेडी सिरिजअन्र्तगत टेड लासोबाट जनसन सुदेकिसले अभिनेता, ह्याक्सबाट जिन स्मार्ट अभिनेत्री, ड्रामा सिरिजअन्र्तगत सक्सेसनले उत्कृष्ट ड्रामा र त्यसैबाट जेरमी स्ट्रगले अभिनेता तथा सराह स्नुकले सह–अभिनेत्रीको अवार्ड चुमिन्। साथै, पोजबाट म्याज रोडिगेजले अभिनेत्रीको अवार्ड चुमिन्। स्क्विड गेमबाट ओ योङसुलसहले अभिनेताको अवार्ड चुमे। टेलिभिजन मोसन पिक्चरअन्र्तगत अन्डरग्राउन्ड रेलवे उत्कृष्ट टेलिभिजन मोसन पिक्चर साबित भयो। डपसिकबाट माइकल केटनले अभिनेता र मेयर अफ वेस्ट टाउनबाट केट विन्सलेटले अभिनेत्रीको अवार्ड चुमिन्।

प्रतिक्रिया दिनुहोस्