दीया सगरमाथा आरोहणको तयारीमा



मनास्लु हिमाल आरोहण गरेकी अभिनेत्री दीया पुनले अब विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने भएकी छिन्। आठ हजार एक सय ६३ मिटर अग्लो मनास्लु हिमालको आरोहण गरिसकेकी उनले आगामी अप्रिल महिनामा निजी खर्चमा सगरमाथा आरोहण गर्न लागेकी हुन्।

हङकङमा जन्मेर नेपाल, ब्रुनाई हुँदै सन् २००० देखि बेलायतमा बसोबास गर्दै आएकी पुनको सन् २०१८ बाट हिमाल आरोहण गर्न थालेकी हुन्। त्यस वर्ष उनले अर्जेन्टिनाको ६ हजार नौ सय ६१ मिटर अग्लो माउन्ट अकोनकागुवाको आरोहण गरेकी थिइन्। त्यसयता हरेक वर्ष एउटा हिमाल चढ्ने उनको योजना भए पनि कोभिड महामारीका कारण रसियाको सबैभन्दा अग्लो हिमाल इल्ब्रस र अफ्रिकाको सबैभन्दा अग्लो माउन्ट किलिमञ्जरो चढ्ने योजना पूरा हुन पाएको छैन। सन् २०२२ मा सगरमाथा चढ्ने उनको योजना छ। कोभिड महामारीका बेला बेलायतको कोलचेस्टर अस्पतालमा नर्सका रूपमा कार्यरत रहँदा उनले बिरामीको मात्र होइन धेरै सहकर्मीको मानसिक स्वास्थ्य स्थितिलाई नजिकबाट नियाल्न पाइन्। त्यसैले, सगरमाथा आरोहण यात्रालाई आफ्नो व्यक्तिगत सौख पूरा गर्न मात्र नभई नर्सहरूको मानसिक स्वास्थ्यसित पनि जोडेकी छिन्।

पुनले सगरमाथा आरोहणमार्फत तीन च्यारिटीका लागि सहयोग संकलन गर्ने जनाएकी छिन्। जसमा बेलायतको राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) च्यारिटी टुगेदर, उनी कार्यरत कोलचेस्टर अस्पताल च्यारिटी र नेपालमा रहेको चिल्ड्रेन एन्ड युथ फस्र्ट रहेका छन्। ‘कोभिडका बेलामा धेरै नर्सको मानसिक स्वास्थ्यमा असर पर्यो। कतिले अर्कै पेसा रोजेको पनि देखेँ। त्यसैले, सगरमाथा चढ्दा आप्mनो व्यक्तिगत इच्छा मात्र पूरा नगरेर सहकर्मीका लागि केही सहयोग गरौँ भन्ने उद्देश्य छ’ दीयाको भनाइ छ।

मिलन चाम्सद्वारा निर्देशित फिल्म वीर बिक्रमबाट रजतपटमा प्रवेश गरेकी अभिनेत्री पुनले ह्याप्पी डेज, मिस्टर झोले, दया रानी र मन्त्रजस्ता फिल्ममा अभिनय गरेकी छन्। दियाले सौगात मल्लसँग स्क्रिन सेयर गरेको नयाँ फिल्म मन्त्र कोभिडको अवस्था सामान्य रहे आगामी माघ २८ गते बाट रिलिजमा आउने बताइएको छ। खिलबहादुर गुरुङ निर्देशित चलचित्र मन्त्रले हिमाली प्रेम कथा बोल्छ। फिल्ममा सौगात र दीयाका साथमा नमिता घिसिङ, वीरबहादुर लामा, पासाङ टि शेर्पाको पनि मुख्य भूमिका रहेको छ।

प्रतिक्रिया दिनुहोस्