धरान तातियो मनोरञ्जन धमाकाले



कोरोना कहरपछि सुस्ताएको धरानको सांगीतिक माहोललाई हालै मनोरञ्जन धमाका २०२२ कन्सर्टले पुनः तताएको छ। पहिलोपल्ट धरानको स्टेज चढेका एकदेव लिम्बू, रचना रिमाल र अस्मिता अधिकारी धरानमा आफ्नो क्रेज र संगीत बुझेका धराने दर्शक–श्रोताको मायाले दंग परे।

भव्य साउन्ड र लाइटसहित ढिला रातिसम्म युवापुस्तामा रुचाइएका लोकप्रिय गायक–गायिकाहरू एकदेव लिम्बू, रचना रिमाल र अस्मिता अधिकारी धरानका दर्शकलाई आफ्नो सांगीतिक तालमा नचाउन सफल भए। अधिकांश युवापुस्ताका दर्शकको बाक्लो उपस्थितिले कार्यक्रममा भिड बढेपछि सुरक्षाकर्मीलाई सम्हाल्न मुस्किल परेको थियो। गायिका रचना रिमालले गीत गाउन शुरू गरेपछि दर्शकको अत्यधिक भिडलाई थेग्न नसकेर सम्भावित दुर्घटनालाई मध्यनजर गर्दै आयोजक पक्ष गेट खोल्न बाध्य भएको थियो।

नेपाल आइडल सिजन–३ को उत्कृष्ट ८ सम्म पुगेकी गायिका रचना रिमालले कन्सर्टमा आफ्ना लोकप्रिय गीतहरू फोटो फिरिममा, सम्झिने पानी छम्किने, उनको प्रितलगायत आधा दर्जन गीत गाएर संगीतप्रेमीहरूलाई मोहित तुल्याएकी थिइन्। दर्शकले पनि उनलाई उनीसँगसँगै गीत गाएर साथ दिएका थिए।

यस्तै, नेपाल आइडल सिजन–२ को थर्ड रनर्सअप विजेता गायिका अस्मिता अधिकारीले आफ्ना लोकप्रिय गीतहरू टाढा भए पनि, तिम्रो मायाले बाँधेर राख, साली मन पर्यो, लज्जावती झारझैं गाएर धराने दर्शकलाई मन्त्रमुग्ध बनाइन्। अर्का गायक एकदेव लिम्बूले आँखामा आउने सपनी, क्या राम्री, तिम्रो मुटुमा, मेरी सानु, शिरफूल, सेवारोजस्ता आफ्ना गीत गाएर दर्शकलाई आकर्षित गरे। सिल्भर इन्टरटेनमेन्टको आयोजनामा भएको नेपालआइस मनोरञ्जन धमाका २०२२ महेश लिम्बू र गोविन राजभण्डारीले संयुक्तरूपमा सञ्चालन गरेका थिए।

प्रतिक्रिया दिनुहोस्