रियलले जित्दा बार्सिलोनाले अंक बाँड्यो



लन्डन, (एजेन्सी) ।

स्पेनिस ला लिगामा शीर्ष टोली रियल मेड्रिडले फराकिलो गोलअन्तरको जित निकाल्दा बार्सिलोनाले बराबरीमा खेल्दै अंक बांडेको छ । शनिबार राति भएको खेलमा रियलले भ्यालेन्सियालाई सहजै ४–१ गोलअन्तरले हराएको हो । अर्को खेलमा १० खेलाडीमा समेटिएको बार्सिलोनाले ग्रानाडासँग १–१ गोलको बराबरी खेल्दै अंक बाँड्यो । घरेलु मैदानमा रियललाई जिताउन कप्तान करिम बेन्जेमा र भिनिसियस जुनियरले दुई–दुई गोल गरे ।

भ्यालेन्सियाका लागि भने गोन्कालो गुइडेसले सान्त्वना गोल फर्काए । बेन्जेमाले ४३औं मिनेटमा पेनाल्टीमार्फत गोलको खाता खोलेका थिए । डिबक्स भित्र विपक्षी डियाखावीले क्यासमिरोलाई लडाएपछि रियलले पेनाल्टी पाएको थियो ।

त्यसपछि ५२औं मिनेटमा भिनिसियसले गोल गर्दै रियलको अग्रता दोब्बर बनाए । ६१औं मिनेटमा भिनिसियसले मार्काे असेन्सियोको पासमा हेडगोल गर्दै रियलको अग्रता थप बलियो बनाए । जारी लिगमा भिनिसियसको यो १२औं गोल हो । उनी सर्वाधिक गोल गर्ने खेलाडीको दोस्रो स्थानमा छन्् ।

खेलको ७६औं मिनेटमा गोन्कालो गुइडेसले रिबाउन्डमा गोल गर्दै भ्यालेन्सियालाई खेलमा फर्काउने प्रयास गरे । गुइडेसको पेनाल्टी प्रहार गोलरक्षक थिवाउट कोर्टुवाले फर्काएपछि सोही बलमा उनले सोझै गोल गरेका थिए । खेलको ८८औं मिनेटमा बेन्जेमाले फर्लान्ड मेन्डीको पासमा व्यक्तिगत दोस्रो गोल गर्दै रियललाई सानदार जित दिलाए । जारी लिगमा बेन्जेमाको यो १७औं गोल हो । सात असिस्ट समेत दिएका उनी सर्वाधिक गोल गर्ने खेलाडीको शीर्ष स्थानमा छन् । रियलका भिनिसियस ‘म्यान अफ दि म्याच’ भए ।

जितसँगै शीर्षस्थानमा रहेको रियलले २१ खेलबाट ४९ अंक बनाएको छ । रियल दोस्रो स्थानमा रहेको सेभियाभन्दा आठ अंकले अगाडि छ । पराजित भ्यालेन्सिया २८ अंकसहित नवौं स्थानमा छ । त्यसैगरी, अर्को खेलमा बार्सिलोनाले सुरुवाती अग्रता लिए पनि जोगाउन सकेन । प्रतिस्पर्धात्मक खेलमा बार्सिलोनाका लागि लुक डे जोङले ५७औं मिनेटमा गोल गरेका थिए । खेलको ७९औं मिनेटमा गाभी दोहोरो पहेँलो (रातो) कार्ड पाउँदै बाहिरिएपछि बार्सिलोना १० खेलाडीमा समेटियो । जसको फाइदा ग्रानाडाले ८९औं मिनेटमा बराबरी गोल गर्दै उठायो ।

ग्रानाडाका एन्टोनिओ पुयर्तासले बराबरी गोल गरेका थिए । बार्सिलोनाका डानी अल्भेस ‘म्यान अफ दि म्याच’ भए । बराबरीसँगै बार्सिलोनाले २० खेलबाट ३२ अंक बनाएको छ । अर्कोतिर पराजित ग्रानाडाको समान खेलबाट २४ अंक छ ।

अर्को खेलमा रियल सोसिडाडले सेल्टा भिगोलाई १–० र लिभान्तेले मालोर्कालाई २–० गोलले हरायो । जितसँगै सोसिडाडले ३३ अंक बनाएको छ । पराजित सेल्टा भिगो २३ अंक छ । त्यस्तै, लिभान्तेले ११ अंक बनाएका छ भने पराजित मालोर्काको २० अंक छ ।

प्रतिक्रिया दिनुहोस्