मनाङको लिगकै फराकिलो जित



पोखरा ।

जारी शहीद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत शनिबारको खेलमा मनाङ मस्र्याङदी क्लबले च्यासल युथ क्लबलाई ५–० को फराकिलो गोल अन्तरले पाखा लगाएको छ । पोखरामा भएको खेलमा मनाङले जारी लिगकै सर्वाधिक गोल गर्दै जित निकालेको हो । लिगको ८ औं चरण समाप्तीमा कुनै पनि टिमले यति ठूलो जित निकाल्न सकेको छैन । मनाङले राष्ट्रिय ‘ए’ डिभिजन लिग काडमाडौं बाहिर लैजानुनै लिगको ठूलो इतिहास हो । मनाङले नेपाल पुलिस क्लब, बिग्रेड ब्वाइज क्लब र च्यासल युथ क्लबलाई पोखरामा खेल्न मनाएको थियो ।

पोखरा रंगशाला फुटबल एरिनामा भएको खेलमा मनाङको फराकिलो जित दर्ता गर्नमा आफिज ओलावाले नायक बने । उनले ह्याट्रिक पूरा गरे । मनाङले खेलको तेस्रो मिनेटमै गोल गर्दै अग्रता लियो । ओलावालेले च्यासलका डिफेन्डरलाई छलाउँदै ओलाउन्मी एडे सोमिडेले सहजै गोल गरे । खेलको पाँचांै मिनेटमा सोमिडेकै पासमा ओलावालेले गरेको प्रहारलाई च्यासलका डिफेन्डरले बचाउ गर्दै संकट टारे ।

खेलको २०औं मिनेटमा सन्तोष साहुखलको फ्रिकिक सोझै मनाङका गोलरक्षक अशोक बरालको हातमा पुग्यो । ३१औं मिनेटमा सन्तोषले नै राजीव लोप्चनलाई मिलाइदिएको बललाई छुन नसक्दा बराबरी गर्नबाट चुक्यो । यस्तै, ४०औं मिनेटमा मनाङका मिडफिल्डर रूपेश केसीले रुमेश भार्तौलालाई लडाएपछि फ्रिकिकको अवसर प्राप्त गरेको थियो । सन्तोषले प्रहार गरेको उक्त फ्रिकिक क्रसबार नजिकैबाट बाहिरिँदा च्यासलको दुर्भाग्य सावित हुन पुग्यो ।

मनाङका ओलावालेले खेलको ४३औं मिनेटमा गोल गर्दै पहिलो हाफमै अग्रता दोब्बर पारे । विश्व अधिकारीले फ्रिकिकमा गरेको प्रहारमा ओलावालेले हेडमार्फत गोल गर्दै अग्रता दोब्बर बनाएका हुन् । पहिलो हाफमा २ गोलले पछि परेको च्यासलले दोस्रो हाफमा भने निकै सुधारिएको खेल खेल्दै मनाङमाथि दबाब सिर्जना गरे पनि गोल गर्न भने असक्षम रह्यो ।

४९औं मिनेटमा सन्तोषकै प्रहार पोष्टबार नजिकैबाट बाहिरियो । ५२आंै मिनेटमा च्यासलले फ्रिकिकको अवसर पाएको थियो उक्त फ्रिकिकमा समेत साहुखल गोल गर्न सकेनन् । उनको प्रहारलाई गोलरक्षक अशोक बरालले पन्च गर्दै बचाउ गरे । खेलको ७५औं मिनेटमा कप्तान अञ्जनले च्यासलका ३ डिफेन्डरलाई छलाउँदै गरेको सशक्त प्रहार बाहिरिन पुग्यो ।

खेलको ८६औं मिनेटमा दिनेश राजवंशीले हेडरमार्फत गोल गर्दै जित निश्चित गरे । अञ्जनको पासमा सोमिडेको प्रहारलाई च्यासलका डिफेन्डर अभिषेक लिम्बूले बचाउ गर्दा मनाङले कर्नर प्राप्त गरेको थियो । रूपेश केसीको कर्नरमा दिनेशले गोल गरेका हुन् । निर्धारित समय सकिएपछि ६ मिनेट थप गरिएको थियो । उक्त समय च्यासलका गोलरक्षक प्रदिप भण्डारी घाइते हुन पुगे । उनको हातमा चोट लागेपछि अर्का गोलरक्षक सन्तोष महतले पोस्ट सम्हाल्दा लगातार २ गोल खान पुगे ।

अतिरिक्त समयको तेस्रो मिनेट ९३औं मिनेटमा ओलावालेले व्यक्तिगत दोस्रो गोल गरे । उनले ९४औं मिनेटमा ह्याट्रिक गर्दै घरेलु मैदानमा फराकिलो जित निकाल्न मद्दत गरे । यद्यपि, मनाङ लिग तालिकाको दोस्रो स्थानमै रहको छ । शनिबार नै मछिन्द्रले फ्रेन्डस क्लबलाई १–० गोल अन्तरले हराउँदै तालिकाको शीर्षमा यथावत् रहन सफल भएको हो ।

प्रतिक्रिया दिनुहोस्