मच्छिन्द्र लिगको शीर्षस्थानमै



काठमाडौं ।

आगामी एएफसी कप छनोट खेल्ने टिम मच्छिन्द्र एफसी जारी शहीद स्मारक ‘ए’ डिभिजन लिगको शीर्षस्थानमै रहेको छ । शनिबार दशरथ रंगशालामा भएको खेलमा मच्छिन्द्रले पुछारमा रहेको फ्रिन्ड्स क्लबलाई १–० ले हराएको हो । यो जितसँगै मच्छिन्द्रले ८ खेलपछि २० अंक जोड्दै शीर्षस्थान यथावत् राखेको हो । जबकि, सो जितमा आत्मघाती गोलको उपहार पाएको थियो । रोनेल एन्थोनी पउलले ६७औं मिनेटमा आफ्नै पोस्टमा गोल गरेपछि गोलको खोजीमा रहेको मच्छिन्द्रले १–० को अग्रता लिन सफल भएको थियो । पछि यही गोल निर्णायक साबित हुँदा मच्छिन्द्र थप ३ अंक जोड्न सक्षम पनि भएको थियो ।

दायाँ विंगबाट मच्छिन्द्रका कप्तान सुजल श्रेष्ठले फ्रेन्डस्को डी–बक्सतिर पुग्नेगरी लामो प्रहार गरेका थिए । डी–बक्समा फ्रेन्डस्का आकाश राईले हेड गर्दै बललाई क्लियर खोज्दा बल एन्थोनीतर्फ गएको थियो । एन्थोनीले पनि बल क्लियर गर्न हेड गर्दा आफ्नै पोस्टमा गोल भएको थियो । बल जाली चुम्न गइरहँदा फ्रेन्डस्का गोलकिपर राहुलले हेर्नुबाहेक केही गर्न सकेनन् ।

फ्रेन्डस्का लागि ५३औं मिनेटमा अग्रता लिने ठूलो मौका आएको थियो । एन्थोनी फ्रान्कोइसले मच्छिन्द्रको डी–बक्समा पाएको सुन्दर मौका खेर फाल्नु नै दुर्भाग्य भएको थियो । उनले मच्छिन्द्रका गोलकिपर विशाल श्रेष्ठलाई छलाएर गोल गर्न सकेनन् । उनको प्रहार सीधै विशालको हातमा गएको थियो ।

यो नतिजापछि फ्रेन्डस्को लागि जारी लिगमा रेलिगेसनबाट जोगाउन निकै मुस्किल भएको छ । टिमले ८ खेलबाट मात्र ३ अंक जोडेको छ । टिम अझै पुछारमा रहेको छ । फ्रेन्डस्को खेल राम्रो भए पनि फिनिसिङ टच नभएपछि जारी लिगमा हारको सामना गरिरहेको छ । मच्छिन्द्रविरुद्ध केही गोल गर्ने सुन्दर अवसर गुमाउनु, संकटाविरुद्ध १–० को अग्रता बचाउन नसक्नु, एनआरटीसँग जित्नुपर्ने खेल हार्नु फ्रेन्डस्को लागि महँगो सावित भइरहेको छ । लिगको प्रावधानअनुसार पुछारका दुई टिम रेलिगेसन हुनेछन् । पुछारमा च्यासल र फ्रेन्डस् रहेका छन् ।

आर्मीको जित
पछिल्ला खेलमा बराबरी खेलेको त्रिभुवन आर्मी क्लबले शनिबार भने जित हात पारेको छ । दशरथ रंगशालामा भएको खेलमा आर्मीले न्युरोड टिम (एनआरटी) लाई १–० ले हराएको हो । विभागीय टिमको जितमा दिनेश हेम्जनले निर्णायक गोल गरे । उनले खेलको १७औं मिनेटमा जगजित श्रेष्ठको पासमा हेडमार्फत् गोल गरेका थिए ।

यो सँगैं आर्मीले जारी लिगमा अपराजेय यात्रालाई निरन्तरता दिएको छ । जारी लिगमा तेस्रो जित निकालेको आर्मी ८ खेलबाट १४ अंक जोडेर अंकतालिकाको चौथो स्थानमा रहेको छ । संकटासरह अंक जोडे पनि आर्मी गोलभिन्नताको आधारमा पछि परेको छ । उता जारी लिगमा दोस्रो हार बेहोरेको एनआरटीको १० अंक रहेको छ ।

प्रतिक्रिया दिनुहोस्