नेपाल–अफ्रिका फिल्म फेस्टिभल फागुनमा



दशौं संस्करणको नेपाल अफ्रिका फिल्म फेस्टिभल–२०२२ आगामी फागुनको पहिलो साता राजधानीमा आयोजना हुने भएको छ। महोत्सवका लागि अफ्रिकी मुलुकबाट फिल्म आउने क्रम जारी रहेको आयोजकले जनाएका छन्।

महोत्सवका लागि हालसम्म अफ्रिकाबाट तीन दर्जनभन्दा बढी फिल्म प्राप्त भइसकेको महोत्सव अध्यक्ष डा. मञ्जु मिश्रले जानकारी गराइन्। अफ्रिकालाई अफ्रिकी लेन्सबाटै हेर्नुपर्छ भनेर आफूहरूले नेपालमा नेपाल–अफ्रिका फिल्म महोत्सव आयोजना गर्दै आएको डा.मिश्रले बताइन्। महोत्सव यसपटक कलेज अफ जर्नालिज्म र विलक्षण क्रियसनको आयोजनामा सम्पन्न हुने भएको छ।

तीन दिनसम्म चल्ने महोत्सवमा अफ्रिकीसँगै नेपाली फिल्म, लघु फिल्म, वृत्तचित्र पनि प्रदर्शन गरिने छ। महोत्सवमा सहभागी हुन चाहने फिल्म पुस महिनाभरमा पठाउन सकिने महोत्सवका निर्देशक डब्बु क्षत्रीले जानकारी गराए। विगतमा झैं यसपटक पनि महोत्सवमा उत्कृष्ट फिल्मलाई पुरस्कृत गरिने उनले जनाए। महोत्सवमा अफ्रिकी मुलुकका विभिन्न सिनेकर्मी तथा संस्कृतिविद्हरू पनि सहभागी हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्