पत्रकार शंकर थापाद्धारा एक लाखको अक्षय कोष स्थापना



विमल विष्ट, डोटी ।

डोटी जिल्लाका पुराना पत्रकार तथा नेपाल पत्रकार महासङ्घ डोटी शाखाका संस्थापक सभापति शंकर थापाले आफ्ना दिवङ्गत आमा बुवाको नाममा रु एक लाखको अक्षय कोषको स्थापना गर्नु भएको छ । यहाँको जोरायल गाउँपालिका–४ देउथला स्थायी बसोबास भएका पत्रकार थापाले आफ्नी दिवङ्गत आमा कलसीदेबि थापाको प्रथम वार्षिक पुण्य तिथीको अवसरमा आफूले प्राथमिक तह अध्ययन गरेको गाउँको महासरस्वती माध्यमिक विद्यालयमा “लालकलसी स्मृति अक्षय कोष” को स्थापना गर्नु भएको हो ।

उक्त कोषबाट प्राप्त हुने व्याज रकमबाट विद्यालयमा गरीव तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरिने र आगामी दिनमा कोषको रकमलाई वृद्धि गरिने पत्रकार थापाले जानकारी दिनुभयो । यसै गरी दिवङ्गत आमा बुवाको स्मृतिमा आफूले माध्यमिक तह अध्ययन गरेको घण्टेश्वर माध्यमिक विद्यालय कुडिकोट जोरायलमा पनि निकट भविष्यमा अक्षय कोषको स्थापना गरिने पत्रकार थापाले बताउनुभयो ।

पत्रकार थापाका अनुसार आफ्नी दिवङ्गत आमाको प्रथम वार्षिक पुण्य तिथिकै अवसरमा नेपाल प्रेस युनियन डोटी शाखाद्वारा स्थापना गरिएको तेज स्मृति अक्षय कोष स्थापनाको लागि रु छ हजार रकम, महासरस्वती माध्यमिक विद्यालय देउथलाका विद्यार्थीहरुका लागि न्यानो लुगा खरिदमा रु ९ हजार ५६८ सहयोग र दृष्टि फाउण्डेशन धनगढी कैलालीमा रहेका बेसाहरा बालबालिका तथा महिलाहरूको भोजनको लागि रु दश हजार १३४ उपलब्ध गराउनु भएको छ ।

विगत २६ वर्षदेखि डोटी जिल्लामा पत्रकारिता पेसामा संलग्न रहनु भएका पत्रकार थापा जिल्लाको पहिलो सामुदायिक रेडियो शैलेश्वरी र सामुदायिक रेडियो घण्टेश्वरको संस्थापक हुनु हुन्छ । विगत दुई वर्षदेखि सपरिवार अमेरिका रहनु भएका पत्रकार थापा घण्टेश्वर अनलाइन सम्पादन गर्दै आउनु भएको छ । आमा बुवाको नाममा रु एक लाखको अक्षय कोषको स्थापना गर्ने थापा जिल्लाकै पहिलो पत्रकार हुनु हुन्छ ।

प्रतिक्रिया दिनुहोस्