कृषकको आकर्षण बट्टाई चरामा



दिलकुमार लिम्बु, ताप्लेजुङ ।

सानो ठाउँ, सानो लागानी, कम परिश्रममा ठूलो आम्दानी लिन सकिने भएकाले ताप्लेजुङमा बट्टाई चरा पालनप्रति आगर्षण बढ्दै गएको छ । यसको मासु र अण्डामा प्रोटिनको मात्रा प्रशस्त पाइने भएकाले बजारमा माग पनि बढिरहेको छ ।

ताप्लेजुङको फुङ्लिङ नगरपालिका–७ का प्रेमसिं तामाङले बट्टाई चरा पालनबाट राम्रो आम्दामी गरिरहनुभएको छ । उहाँ सदरमुकाममा रहेको मेकानिक पसल बेचेर व्यावसायिकरूपमा बट्टाईपालनतिर लाग्नुभएको हो । उहाँले सातामा ४ हजार रुपियाँको बट्टाईको अण्डा बिक्री गर्दै आनुभएको छ । प्रतिओटा अण्डा दश रुपियाँमा बजारमा बिक्री हुँदै आएको छ । मासुका लागि प्रतिओटा बट्टाई २ सयदेखि ४ सयसम्मा बिक्री गर्दै आएको तामाङ बताउनुहुन्छ ।

लामो समय घडी, रेडियो बनाउने मेकानिका पसल खोलेर बसेको तामाङ बट्टाई चरासँग रमाउन थालेको दुई वर्ष भयो । उहाँको घरमा ३ सयभन्दा बढी बट्टाई पाल्दै आउनुभएको छ । राम्रो आम्दानीको स्रोतसँगै घरको सौन्दर्य समेत बढाउने भएकाले बट्टाई व्यवसायबाट आफू सुन्तुष्ट रहेको तामाङ बताउनुहुन्छ । ‘अन्य जिल्लाबाट चल्ला ल्याउनु पथ्र्यो । बाहिर जिल्लाबाट चल्ला ल्याउँदा धेरै बच्चा मर्ने भएकाले अहिले आफैं हेचिङ मेसिन बनाएर बच्चा उत्पादन गर्न थालेको छु’, उहाँ भन्नुहुन्छ– ‘पट्ट्राईको चल्ला उत्पादन गर्ने हेचिङ मेसिन ताप्लेजुङमै पहिलोपटक मैले बनाएको हुँ ।’

त्यस्तै, कृषि क्षेत्रमा राम्रो सम्भावना देखिर फुङ्लिङ नगरपालिका–५ का डिल्ली लिम्बु पनि एक दशकदेखि सञ्चालन गर्दै आएको कपडा पसल बेचेर कृषि क्षेत्रमा रमाउन थाल्नुभएको छ । लिम्बुले पसल बेचेर फुङ्लिङ नगरपालिका–८ मा १ सय रोपनी जग्गा खरिद गरी व्यावसायीक रूपमा मुक्कुमलुङ मोल्टी कृषि फर्म खोल्नुभएको छ । स्थापनादेखि नै बट्टाई पालन गर्दै आउनुभएका लिम्बुको फर्ममा लोकल कुखुरा, कोरथनाथ कुखुरा, विभिन्न जातका बाख्रा, बङ्गुर छन् । फलफूलतर्फ केरा, सुन्तला, कागतीलागायत व्यावसायीकरूपमा उत्पादन गर्दै आउनुभएको छ । अहिले र्फाममा ५ सयको हाराहारीमा बट्टाई रहेको र दैनिक ९० ओटाभन्दा बढी अण्डा उत्पादन हुँदै आएको लिम्बुको कथन छ ।

मासु र अण्डामा प्रोटिनको मात्रा प्रशस्त पाइने भएकाले बिक्री गर्न समस्या नरहेको उहाँको भनाइ छ । सानो क्षेत्रफलमा पालन गर्न सकिने र रोगको प्रकोप देखा नपर्ने हुँदा सहजरूपमा पालन गर्न सकिने भएकाले बट्टाई पालनप्रति आकर्षण बढेको प्रेमससिं तामाङले बताउनुभयो । ‘चरा चिसो मौसममा बढी बिक्री हुने रहेछ । घरमै खानका लागि किन्नेहरु धेरै आउँछन्’, तामाङले भन्नुभयो– ‘‘बजारको चिन्ता छैन । जति पाले पनि बिक्री हुन्छ ।’

बट्टाईपालनका लागि थोरै लगानीबाट शुरु गर्न सकिने र चरा डेढ महिनाको भएपछि निरन्तर आम्दानी गर्न सकिने भएकाले बट्टाई चरा राम्रो आम्दानीको स्रोत बन्दै गएको लिम्बुको भनाइ रहेको छ । ‘अण्डासँगै चल्लाको बजार राम्रो रहेको छ’, लिम्बु भन्नुहुन्छ– ‘अहिले व्यावसायिकरूपमा चल्ला उत्पादन गर्दै आएको छु ।’

प्रतिक्रिया दिनुहोस्