किम्फमा २८ मुलुकका ६० बढी फिल्म



काठमाडौं अन्तर्राष्ट्रिय फिल्म महोत्सव (किम्फ) को १९औँ संस्करण गत बिहीबारदेखि राजधानीमा शुरू भएको छ । कोभिड–१९ महामारीको जोखिमले यसपटकको किम्फ हाइब्रिड शैलीमा आयोजना गरिएको छ। हिमाल एसोसियसनद्वारा आयोजित फेस्टिभल चलचित्र विकास बोर्डको अडिटोरियममा शुरू भएको महोत्सव आज सोमबारसम्म चल्नेछ।

फेस्टिभल भारतको लद्दाखका चर्चित वातावरण अभियन्ता तथा रोलेक्स अवार्ड विजेता सोनम वाङचुकले किनोट स्पिचसहित शुभारम्भ गरेका थिए। डकुमेन्ट्री, फिक्सन, प्रयोगात्मक, सर्ट र एनिमेसन फिल्म गरी २८ मुलुकका ६० भन्दा बढी फिल्म आज सोमबारसम्म अनलाइन र प्रत्यक्षरूपमा देखाइनेछ। विश्वभरदेखि दर्शकले सबै फिल्मलाई महोत्सव अवधिभर किम्फ फिल्म फेस्टिभलको पोर्टलमा हेर्न सक्नेछन् ।

यसपटकको फेस्टिभल क्लाइमेट कर्म मुख्य थिममा चलेको छ । यसपटक जलवायु परिवर्तनका असर चित्रण गरिएका फिल्म, लैंगिक समानता र सशक्तीकरणका सन्देश दिने फिल्म किम्फमा देखाइने भएको छ। फेस्टिभल शुभारम्भ काइली रुडिक निर्देशित १८ मिनेट लामो वृत्तचित्र ड्रिम माउन्टेन प्रिमियरसँगै शुरू भएको थियो। एक बच्चाकी आमा समेत रहेकी नेपाली महिला हिमाल आरोही पासाङ ल्हामु शेर्पाले गरेको संघर्षपूर्ण हिमाल आरोहणको कथा वृत्तचित्रमा थियो।

‘उत्साहपूर्ण प्रतिक्रियाले खुसी छु’ छोरासहित प्रिमियरमा सहभागी आरोही शेर्पाले भनिन्– ‘यो फिल्मले दर्शकलाई जीवनप्रति आशावादी रहन र बाँच्न प्रेरणा दिन्छ।’ यसपटकको किम्फमा ४० फिल्म अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सहभागी छन् भने १३ फिल्म नेपाल पानोरमामार्फत प्रतिस्पर्धी छन्।

वातावरण अभियन्ता तथा प्रमुख अतिथि वाङ्चुक हिन्दूकुश हिमालय क्षेत्रमा देखिएको जलवायु असरप्रति गम्भीर सुनिए । आमिर खानको चर्चित बलिउड फिल्म थ्री इडियट्स वाङचुककै जीवनबाट प्रभावित छ। मानव सभ्यताको सबैभन्दा ठूलो खोजी प्रेम र सम्बन्ध रहेको चर्चा गर्दै उनले जलवायु परिवर्तनको असरप्रति गम्भीर बन्न सरकार र नागरिक दुवै गम्भीर बन्नुपर्ने बताए। ‘सबै धर्मको मुख्य सार शान्ति र अहिंसा नै हो’ वाङचुकले भने, ‘कोरोना भाइरस महामारीले हामीलाई मानव सभ्यताप्रति गम्भीर बन्न र सोच्न सिकाएको छ। यो यसरी नै हामी वातावरणप्रति सचेत हुनुपर्छ।’ आफ्नो थलो लद्दाखको अनुभव सुनाउँदै उनले हिमनदी पग्लिँदा पानीका स्रोतहरू सुक्दै जान थालेको र यस्तो समस्या नेपाली हिमालय क्षेत्रमा पनि सिर्जना भएको उनको भनाइ थियो ।

हिन्दूकुश हिमालय क्षेत्रमा भारत, पाकिस्तान र चीनको सैनिक आवादी उच्च रहेको जनाउँदै उनले यस्तो प्रवृत्तिले हिन्दूकुश हिमालय क्षेत्रमा गम्भीर वातावरणीय असर निम्त्याएको बताए । उनले काठमाडौं आउँदा घर फर्किएजस्तो महसुस भएको जनाउँदै आफूलाई साथीहरूले ५० प्रतिशत भारतीय र शतप्रतिशत नेपाली भनेर जिस्काउने गरेको अनुभव सुनाए । फेस्टिभलमा अभिनेता एवं निर्देशक अनुप बराल, स्विस फिल्ममेकर क्यारोलाइन फिंक र मारियो कासेला निर्णायक छन्। ‘मैले निर्णायकको रूपमा जति पनि फिल्म हेरेँ, यी फिल्म मात्र होइनन् बरु अद्भूत फिल्म हुन्’ बरालले भने, ‘यी फिल्मले हामीलाई आफूभित्र फर्किएर हेर्न र प्रश्नहरूको सामना गर्न सिकाउँछन्। चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले जलवायु परिवर्तनको असर नेपालजस्ता कम विकसित मुलुकले भोगिरहेको जनाउँदै फिल्ममार्फत यसबारे सन्देश दिन फेस्टिभलको योगदान महत्वपूर्ण हुने बताए।

युरोपेली आयोगकी राजदूत नोना डेप्रेजले जलवायु संकटविरुद्ध लड्न ईयूले नेपाललाई सहायताको प्रतिबद्धता जनाएको बताइन्। आयोजक संस्था हिमाल एसोसिएसनका अध्यक्ष वसन्त थापाले जलवायु परिवर्तन यतिबेला विश्वको वास्तविक चुनौती रहेकाले यसपटकको फेस्टिभल नै जलवायुमा केन्द्रित रहेको बताए।

फेस्टिभल निर्देशक रम्यता लिम्बूले मानिसहरू वातावरणसँग कसरी सम्बन्धित छन् र स्थानीय तथा विश्वव्यापीरूपमा भइरहेका जलवायु परिवर्तनका प्रतिकुल प्रभावलाई कसरी कम गर्न सकिन्छ भनेर सन्देश दिनु फेस्टिभलको मुख्य उद्देश्य रहेको बताइन् ।

प्रतिक्रिया दिनुहोस्