संघीयता नक्कली नाकको शौखजस्तै लाग्छ भक्तपुरका नगरप्रमुखलाई



पुष्कर बुढाथोकी, भक्तपुर  । 

भक्तपुर नगरपालिकाभित्र संघीय, प्रादेशिक र स्थानीय सरकारमा नेपाल मजदुर किसान पार्टीको एकलौटी कब्जा छ । माथि संघीय सांसददेखि नगरपालिका भित्रका नगर कार्य समिति र दशवटा वडा समितिमा अरू पार्टीको बाछिटासम्म पर्नसकेको छैन ।यहाँ अन्य पार्टीलाई नेमकिपाले निर्वाचनमार्फत क्लिन स्विप गरी एकलौटीरूपमा स्थानीय सरकार सञ्चालन गर्ने अवसर जनताले दिएका छन् । सायद देशमै यस्तो अवस्था अन्यत्र छैन ।

त्यसैले पनि अन्य दलहरु यहाँ नेमकिपाले एकलौटी गरेको आरोप लगाउने गर्दछन् । तर, निर्वाचनमार्फत जितेर आएकाले त्यो अवैधानिक भने छैन ।
हुन त नेमकिपाको पनि आफ्नै पीडा छ, विगतमा बाहिरी जिल्लामा समेत केन्द्रीय निर्वाचन जित्दै आएको पार्टी अहिले भक्तपुर नगरपालिकाभित्र मात्र खुम्चिएको छ ।तर, भक्तपुरमा भने नेमकिपाले बनाउन चाहेको देशको नमुना कस्तो हो त्यो देख्न र महसुस गर्न सकिन्छ । सांस्कृतिक सम्पदाले सम्पन्न र सम्पदा पुनर्निर्माण र आन्तरिक बाह्य पर्यटकको आगमनले चर्चित बनेको नगर अहिले शिक्षा र नगरको सफाई तथा सम्पदा पुनर्निर्माणमा जनश्रमदान जुटाउने सवालमा धेरै नगरपालिकाका लागि अनुकरणीय बनेको छ ।

उसले बिगतदेखि नै एक घर एक इन्जिनियर र एक घर एक स्नातक जस्ता शैक्षिक अभियान सञ्चालन गर्दै आएको छ ।देशमै छुट्टै शैली र स्वरूपमा सञ्चालन हुँदै आएको भक्तपुर नगरपालिकाका स्थानीय सरकार प्रमुख सुनील प्रजापतिसँग गरिएको कुराकानीको सार: संविधानअनुसार तीनै तहको अधिकार ऐनले सूचीकृत गरेबमोजिम हाम्रो ध्यान ऐन, कानुन, कार्यविधि, विनियम बनाउन गयो । अझै संघ र प्रदेशमा बस्ने पदाधिकारी त्यो अधिकार आफूमै केन्द्रित गर्न चाहन्छन् । व्यवहारमा संघीयता कार्यान्वयन हुन सकेको छैन । संघीयता नक्कली नाकको शौखिन भने जस्तै अवस्थामा भयो ।स्थानीय योजना केन्द्र र प्रदेशले छनोट गर्ने परिपाटी गलत छ । पञ्चायतकालमा पहुँचको आधारमा बजेट पठाएझैं अहिले पनि त्यै हुनु उचित भएन । भक्तपुर नगरपालिका कसैको ज्यूहजुरी र चाकडी गर्ने पक्षमा छैन । नेपाल सरकारले स्थानीय सरकार पनि सरकार हो भनेर ठानिदिएको खण्डमा राम्रो हुन्थ्यो ।

उपलब्धि

भक्तपुर सांस्कृतिक नगर र नाचगानको राजधानी भएकाले हाम्रो प्राथमिकता सम्पदा संरक्षणमा छ । हालसम्म १ सय १५ वटा सम्पदा पूर्णरूपमा निर्माण सम्पन्न भएका छन् ।दर्जनौं सम्पदा पुनर्निर्माणको अवस्थामा छन् । कैयौ सम्पदा सम्पन्न हुने क्रममा छन् । इँटा छपाइले धूलो उड्यो भन्ने गुनासो आएपछि ढुंगा छाप्ने काम ग¥यौं । मूर्त र अमूर्त कला संस्कृतिको जगेर्नाका निम्ति प्रतियोगिता ग-यौं र प्रशिक्षण दियौं । मौलिक शैलीका घर निर्माण गर्नेलाई मोहडामा लाग्ने इँटा, काठ र झिंगटीका निम्ति ३५ प्रतिशत अनुदान दिने गरेका छौं ।जनताको चेतनाको स्तर उठाउन स्थानीय पाठ्यक्रममार्फत कला संस्कृति, खेलकुद, खानपान, व्यक्तित्वका विषयमा परिचय दिने काम गरेका छौं ।शिक्षामा शिशु स्याहारदेखि कलेजसम्म सञ्चालन गरिरहेका छौं । जसअन्तर्गत ७ वटा शैक्षिक संस्थामा देशभरका ६ हजारभन्दा बढी विद्यार्थी पढ्छन् । इन्जिनियर, नर्स, ओभरसिएरलगायतका जनशक्ति उत्पादन गरिरहेका छौं ।

स्वास्थ्यमा खोप अस्पताल र घरदैलो नर्सिङ सेवा प्रदान गरिरहेका छौं । नसर्ने दीर्घकालीन रोग लागेका प्रत्येकलाई १०–१० हजार दिन शुरु गरेका छौं । राज्यको जग्गा संरक्षण गरी जनताको निम्ति उपयोग गर्ने कार्य गरिरहेको छ नगरपालिकाले ।नेपाली सेनाको कम्पाउन्डभित्र रहेको रानीपोखरीलाई मौलिक शैलीमा पुननिँर्माण गर्नुका साथै खेलमैदान भाजुपोखरीको पुनर्निर्माण गरिरहेको छौं । देकोमिवा इँटापाखे आवास योजना व्यवस्थितरूपमा अघि बढाएका छौं । मानसिक विकासमा र नैतिकतामा जोड दिइएको छ । भौतिक विकास सबथोक होइन । स्कुल कलेजमै नैतिक शिक्षामा जोड दिएका छौं । मानसिक विकासले भौतिक बिकासलाई पूर्णतामा पु-याउन सहयोग पु-याउँछ ।आवश्यकताअनुसार योजना बनाएर बजेट पठाएका छौं । समानुपाितक र सन्तुलित विकासमा जोड दिएको छ ।

चुनौती

घोषणापत्रमा भएबमोजिम र कबुलबमोजिम अधिकांश काम गरिसकेको भए पनि कानुनी अड्चन र नेपाल सरकारले स्वीकृति नदिँदा तथा केही आर्थिक कारणले पूरै काम हुन सकिरहेको छैन ।ख्वप विश्वविद्यालय सरकारले विधेयक पारित नगर्दा सम्पन्न हुन सकेन । राष्ट्रिय चित्र संग्रहालय रहेको भवन मल्लकालीन शैलीमा बनाउन युनेस्कोले पत्राचार नगर्दा रोकिएको छ । नगरको उत्तर र दक्षिण बग्ने खोलाई सफा गर्न नसकेको, खानेपानी अभाव पूरा गर्न नसकेको अबस्था छ ।

आत्मनिर्भरता

अरूले दिन्छ र विकास गर्छांै भन्ने परिपाटी त्याग्नुपर्ने हाम्रो मूलभूत मान्यता हो । आफैले गरेर देखाउनसक्नुपर्छ भनेर विदेशी अनुदान अस्वीकार गरेका छौं । बरु जनश्रमदानलाई साथ लिएर काम गरेको र आत्मनिर्भरताको दृष्टिले नगरपालिका अघि बढिरहेको छ । हामीले आफै मिडिया चलाएको र चलाउने कोशिस गरिरहेका छौं । स्थानीय सरकार आत्मनिर्भर हुनुपर्नेमा जोड दिँदै नगरपालिकाले जनप्रतिनिधि र कर्मचारीलाई सक्षम र आमनिर्भर बनाउन तालिम समेत दिइरहेका छौं ।

अन्त्यमा

हामी व्यक्तिगतरूपमा फेरि प्रमुखमा दोहोरिने-नदोहोरिने बारे सोच्दैनौं, पार्टीको सिपाही भएकाले पार्टीले जहाँ खटाउँछ त्यहाँ जाने हो । व्यक्तिगत इच्छाभन्दा पनि पार्टीको आवश्यकताअनुसार गर्ने हो । व्यक्तिको चाहना गौण हुन्छ हाम्रो पार्टीमा ।

प्रतिक्रिया दिनुहोस्