नेवारी दोहोरीमा राजमती जोडी



हालै सार्वजनिक नेपाल भाषाको गीतमा नेपाल भाषाको सुपरहिट फिल्म राजमतीका नायक मणिराज लवट र नायिका हिसिला महर्जनले सँगै अभिनय गरेका छन् ।

गायक अनिल महर्जन र गायिका सरस्वती महर्जनद्वारा स्वरबद्ध वयेगु जुलगीतको म्युजिक भिडियो ललितपुरमा आयोजित एक कार्यक्रमकाबीच सन्तनिरंकारी मण्डल नेपालका उपाध्यक्ष कृष्ण बहादुर पन्थले सार्वजनिक गरेका थिए। नेपाल भाषाको दोहोरी गीत वयेगु जुलमा उनीहरू सँगै देखिएका हुन्। गीतमा शब्द संयोजन अनिल महर्जनको रहेको छ भने म्युजिक भिडियोमा हिसिलाको साथमा मणिराज लवट, कृषा श्रेष्ठ, अनुप श्रेष्ठले पनि अभिनय गरेका छन् ।

कार्यक्रममा वक्ताहरूले विगतमा नेवाः समुदायमा प्रचलनमा रहेको दोहोरी गीतको प्रचलन अहिले लोप हुँदै गएको बताए । यसलाई ‘जुहारी म्ये’ भनिने सो कार्यक्रमका वक्ताहरूले प्रकाश पारेका थिए। कार्यक्रममा बोल्दै गीतका संगीत संयोजक निरन्जन महर्जनले नेपाल भाषाको परम्परागत दोहोरी गीतमा संगीत संयोजन गर्न पाउँदा खुसी र यो गीतसँगै नेवाः समुदायमा दोहोरी गीतको परम्पराको पुनःथालनी हुने आशा व्यक्त गरे। पत्रकार विजयरत्न तुलाधर अशंवरेले नेपाल भाषाको संगीत क्षेत्रमा लागेका कलाकारहरू प्रतिफलको आश नगरी कला क्षेत्रमा निरन्तर लागिरहेकोमा प्रशंसा गर्दै अब प्रतिफलको आश गर्ने मात्र नभई पेसागत रूपमै अगाडि बढ्नुपर्ने समय आएको चर्चा गरे।

नेवाःफिल्म सोसाइटीका अध्यक्ष एवं सञ्चारकर्मी विराजकाजी राजोपाध्यायले उद्योगी व्यापारी वर्गले आफ्नो वार्षिक नाफाको केही प्रतिशत नेवाःकला क्षेत्रको लागि भनेर छुट्याउन सके यस क्षेत्रको उत्थानको लागि ठूलो सहयोग हुने सुझाव दिए। कार्यक्रममा म्युजिक भिडियोकी एक मोडल हिसिला महर्जन, सिनेमाटोग्राफर, दृश्य सम्पादक र निर्देशक लुःजः सिंहलगायतले आ–आफ्नो अनुभव सुनाएका थिए।

प्रतिक्रिया दिनुहोस्