जेरार्ड एस्टन भिल्लाका प्रमुख प्रशिक्षक



लन्डन, (एजेन्सी) ।

स्टेभेन जेरार्ड इंग्लिस प्रिमियर क्लब एस्टन भिल्लाका प्रमुख प्रशिक्षकमा नियुक्त भएका छन् ।

भिल्लाले स्कटिस क्लब रेन्जर्समा प्रशिक्षक रहेका जेरार्डलाई टिमका प्रमुख प्रशिक्षकमा नियुक्त गरेको हो । सम्झौताअनुसार जेरार्ड भिल्लामा साढे ३ वर्ष प्रशिक्षक पदमा रहनेछन् । स्कटिस क्लबमा जेरार्डको अझै ३ वर्षको सम्झौता अवधि रहेको छ । यसको बाबजुद उनी प्रिमियर लिग क्लबमा आएका छन् । उनलाई भिल्लामा ल्याएबापत क्लबले रेन्जर्सलाई क्षतिपूर्तिस्वरूप साढे ४ मिलियन पाउन्ड तिर्ने पनि बताइएको छ ।

एस्टन भिल्ला हाल प्रिमियर लिगको अंकतालिकाको १६औं स्थानमा रहेको छ । टिमले ११ खेलमा १० अंक जोडेको छ । गत २५ सेप्टेम्बरमा म्यानचेस्टर युनाइटेडलाई १–० ले स्तब्ध पारेयता एस्टन भिल्लाले खेलेको पाँचै खेलमा हार बेहोरेको छ । लगातारको हारपछि भिल्लाले आफ्नो मुख्य प्रशिक्षक डिन स्मिथलाई बर्खास्त गरेको थियो । डिन स्मिथको नेतृत्वमा अन्तिम खेल भिल्लाको साउथ ह्याम्टनविरुद्ध थियो, जुन खेल १–० ले हारेको थियो ।

४१ वर्षीय जेरार्डले सन् २०१८ को जुनदेखि रेन्जर्सको जिम्मेवारी सम्हाल्दै आइरहेका थिए । उनले क्लबलाई गत सिजन स्कटिस प्रिमियरसिपको उपाधि जिताएका थिए । जसले च्याम्पियनको रूपमा सेल्टिकको ९ वर्षको आधिपत्य तोडिएको थियो । उनले रेन्जर्सको प्रशिक्षकको रूपमा १ सय ९३ खेल खेलाउँदा १ सय २५ जित, ४२ बराबरी र २६ हारको नतिजा निकालेका थिए ।

खेलाडी करियरमा जेरार्ड निकै सफल भएका थिए । उनले सन् १९९८ देखि २०१५ सम्म लिभरपुलका लागि खेलेका थिए । सन् २०१४ मा इंग्ल्यान्डको राष्ट्रिय टोलीबाट सन्न्यासको घोषणा गरेका जेरार्डले १ सय २१ खेलमा २१ अन्तर्राष्ट्रिय गोल गरेका छन् । त्यसपछि उनी अमेरिकी मेजर सकर लिगमा पुगे । उनले २०१५–१६ को सिजनमा मेजर सकर लिगमा एलए ग्यालेक्सीबाट खेलेका थिए ।

प्रतिक्रिया दिनुहोस्