ओलम्पिक कमिटीमा खेलकुदमन्त्रीको स्वागत



नेपाल समाचारपत्र, काठमाडौं ।

नेपाल ओलम्पिक कमिटीले बिहीबार युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजलाई औपचारिकरूपमा स्वागत गरेको छ ।

उक्त अवसरमा सन् २०२२ मा चीनको हाङझाउमा हुने १९औं एसियाली खेलकुदमा नेपालको सहभागिताबारे प्रारम्भिक छलफल भएको थियो । प्रतियोगिता आउने वर्ष सेप्टेम्बर १० देखि २५ सम्म आयोजना हुनेछ । छलफलमा नेपालको सम्भावित सहभागिता, त्यसको तयारी र समस्या तथा औचित्यमा केन्द्रित थियो ।

छलफल युवा तथा खेलकुदमन्त्री गहतराजको मुख्य आथित्यमा भएको थियो । त्यस अवसरमा उहाँले खेलकुद संघलाई आफ्नो तयारी शुरू गर्न निर्देशन दिनुभयो । यस्तै, उहाँले त्यसका लागि आवश्यक बजेटको व्यवस्थाका लागि पहल हुने बताउनुभयो । उहाँले नेपालको तयारी गुणात्मकरूपमा राम्रो हुनुपर्ने र पदक जितमा केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो– ‘नेपाली खेलकुदले पछिल्लो समय केही सफलता पनि प्राप्त गरको छ । त्यसको अर्थ हामीले अन्तर्राष्ट्रिय खेलकुदमा केही गर्न सक्छौं भन्ने नै हो ।’

नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले नयाँ खेलकुद ऐनपछि नेपाली खेलकुद नयाँ अध्यायमा प्रवेश गरेको बताउँदै देशको विकासका लागि सरकार, ओलम्पिक कमिटी र संघबीच समन्वयको आवश्यकता रहेको बताउनुभयो । अध्यक्ष श्रेष्ठले भन्नुभयो– ‘एसियाली खेलकुदमा पदकका लागि ठोस तयारीको आवश्यकतापर्ने हुन्छ । यो एक दिनको तयारीले पुग्ने हुँदैन । अबको एसियाली खेलकुदमा हामीले राम्रो प्रदर्शनका लागि तयारी अहिले तयारी शुरू गर्नुपर्ने हुन्छ ।’

एसियाली खेलकुदको तयारीका लागि भएको प्रारम्भिक छलफलमा विभिन्न खेल संघका पदाधिकारी तथा पूर्वखेलाडीले आप्mनो खेलमा रहेको समस्या, बजेटको अभाव, भौतिक पूर्वाधार र खेल सामग्रीको अपर्याप्तताबारे बोल्नुभएको थियो । भलिबल, रग्वी, गल्फ, एथलेटिक्स, इक्वेस्ट्रियन, कराते, उसु, टेबल टेनिस, तेक्वान्दो, र्याफ्टिङ, क्यानोइङ, कुस्ती, पौडी, साइक्लिङ, जुडो, टेनिस, कपर्दी, फेन्सिङ, बक्सिङ, ट्रायथलन र ब्याडमिन्टन संघका प्रतिनिधित्वले आफ्ना धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्