न्युजिल्यान्ड लगातार तीन विश्वकप फाइनलमा



फिरोज राजोपाध्याय, काठमाडौं ।

न्युजिल्यान्ड टी–२० विश्वकपमा पहिलोपटक फाइनल पुगेको छ । न्युजिल्यान्ड यसै फरम्याटको विश्वकप २०१६ को सेमिफाइनलमा पराजित भएको थियो । यसअघिका विश्वकप भने बिर्सनलायकको थियो । न्युजिल्यान्डको राम्रो समय २०१९ को विश्वकप (५० ओभरको) पछि नै आएको हो । यद्यपि, उक्त विश्वकप विवादास्पद निर्णयका कारण न्युजिल्यान्डले उपाधि गुमाउनुुपरेको थियो । क्रिकेट विश्लेषकहरूले सुपर ओभरमा बराबरी भएपछि अर्को सुपर ओभर पनि हुनुपर्ने या दुवै टिमलाई संयुक्त विजेता घोषित गर्नुपर्ने भनेका थिए । यसमा आईसीसी चुकेको उनीहरूको भनाइ थियो ।

२०१९ विश्वकप फाइनलमा स्थान बनाउनु न्युजिल्यान्डको क्रिकेट इतिहासमा लगातार दोस्रोपटकको फाइनल थियो । उक्त फाइनलमा इंग्ल्यान्ड थियो प्रतिद्वन्द्वी । इंग्ल्यान्ड र न्युजिल्यान्डको स्कोर बराबरी भएपछि सुपर ओभर भएको थियो । सुपर ओभर पनि बराबरी भएपछि बाउन्ड्रीको संख्या गणना गरेर निर्णय निकालियो, जुन निकै आलोचित भएको थियो । इंग्ल्यान्डले न्युजिल्यान्डभन्दा बढी बाउन्ड्री प्रहार गरेको आधारमा विश्वकप उपाधि उचाल्यो, जुन इंग्लिस क्रिकेटको इतिहासमा ५० ओभरमा उनीहरूको पहिलो उपाधि थियो ।

यसपटक फेरि न्युजिल्यान्ड र इंग्ल्यान्ड आमने–सामने भयो । यूएईमा जारी टी–२० विश्वकपको सेमिफाइनल पनि २०१९ को विश्वकप फाइनलझैं रोमाञ्चक बनेको थियो । न्युजिल्यान्डले यसपालि भने इंग्ल्यान्डलाई ५ विकेटले पराजित गर्दै फाइनलको यात्रा गरेको हो । जितसँगै न्युजिल्यान्ड टिमले ३ वर्षअघि पाएको तीतो अनुभवलाई छायाँमा पार्न केही हदसम्म सफल पनि भयो । तर, यो उपाधि जित्नु नै उनीहरूको लागि त्यो तीतो अनुभव मीठो बन्न सक्नेछ ।

न्युजिल्यान्डले २०१९ मा विश्वकप उपाधि गुमाए पनि यसपछि विश्व टेस्ट च्याम्पियनसिपमा उपाधि जितेर इतिहास रच्न सफल भयो । न्युजिल्यान्ड यसै वर्ष भारत जस्तो बलियो टिमलाई फाइनलमा हराएर टेस्ट फरम्याटमा विश्व विजेता बन्यो । यो न्युजिल्यान्डको क्रिकेट इतिहासमा पहिलो आईसीसी ट्रफी हो ।

अब टिम आईसीसीको दोस्रो उपाधि जित्न निकट छ । न्युजिल्यान्ड पहिलो पटक टी–२० विश्वकप फाइनल पुग्नाले पनि २०१९ को फाइनलको गल्ती नदोहोर्‍याउँला । टिम सशक्त बनेको छ, समूहमा केवल एक खेल हारेको छ टिमले । टिम पाकिस्तानसँग हारेको थियो । तर, अन्य खेलमा भने राम्रो प्रदर्शन गर्दै जित हात पारेको न्युजिल्यान्डको सानदार प्रदर्शन भारतविरुद्धको थियो । न्युजिल्यान्डका बलरले भारतीय टिमलाई १ सय १० रनमै रोकेको थियो ।

न्युजिल्यान्डलाई यहाँसम्म ल्याउन कप्तान केन विलियमसनको ठूलो योगदान रहेको छ । विलियमसन न्युजिल्यान्डको क्रिकेट इतिहासमा सबैभन्दा सफल कप्तानी र क्रिकेटर बनिसकेका छन् । उनकै कप्तानीमा न्युजिल्यान्ड पछिल्लो ३ वर्षमा ३ वटा फरम्याटको विश्वकपको फाइनलमा पुगेको छ । जसमा ५० ओभरको विश्वकप, टेस्ट विश्वकप र अहिले २० ओभरको विश्वकप रहेका छन् । यसमध्ये टेस्ट विश्वकपमा विजेता बन्न सफल भयो भने २० ओभरको विश्वकपको नतिजा आइतबार राति सार्वजनिक हुँदैछ ।

२०१९ को विश्वकप फाइनल खेलेका खेलाडीमा विलियमसनका साथै मार्टिन गप्टिल, जेम्स निसम, मिचेल सान्टनर र ट्रेन्ट बोल्ट अहिलेको टिममा रहेका छन् । हाल टिममा रहेका डेरिल मिचेल, इश सोढी, डेभन कोनवे, ग्लेन फिलिप्स्, एडाम मिल्ने, टिम साउदीले भने त्यो ऐतिहासिक फाइनलमा स्थान बनाउन सकेका थिएनन् । तर, यसपटक उनीहरूको लागि इतिहास रच्न मौका आएको छ ।

न्युजिल्यान्डको विश्वकप यात्रा

५० ओभरमा
१९७५ सेमिफाइनलमा वेस्टइन्डिजसँग हारेको
१९७९ सेमिफाइनलमा इंग्ल्यान्डसँग हारेको
१९८३ समूह चरण
१९८७ समूह चरण
१९९२ सेमिफाइनलमा पाकिस्तानसँग हारेको
१९९६ क्वार्टरफाइनलमा अस्टे«लियासँग हारेको
१९९९ सेमिफाइनलमा पाकिस्तानसँग हारेको
२००३ सुपर सिक्स
२००७ सेमिफाइनलमा श्रीलंकासँग हारेको
२०११ सेमिफाइनलमा श्रीलंकासँग हारेको
२०१५ फाइनलमा अस्ट्रे लियासँग हारेको
२०१९ फाइनलमा इंग्ल्यान्डसँग हारेको
२० ओभरमा
२००७ सेमिफाइनलमा पाकिस्तानसँग हारेको
२००९ सुपर एट
२०१० सुपर एट
२०१२ सुपर एट
२०१४ सुपर टेन
२०१६ सेमिफाइनलमा इंग्ल्यान्डसँग पराजित
२०२१ ?

प्रतिक्रिया दिनुहोस्