खाेटाङको राजापानीका दिनेश सुनार हुनलाई पार्कर खेलाडी हुन्, तर असाधारण साहसी स्टन्ट कलाकारका रूपमा पनि उत्तिकै चिनिन्छन् । नायक हुन् वा नायिकाका लागि अभूतपूर्व ढंगले स्टन्ट गरिदिएका सुनारले अपत्यारिलो जिम्न्यास्टिक कला प्रदर्शन गर्दै थुप्रै फिल्मका खलनायकलाई पछारेका छन् । दिनेशले हवल्दार सुन्तली, किस्मत टु, कोइला जस्ता थुप्रै फिल्ममा पार्कर खेलको प्रदर्शन गर्दै साहसिक स्टन्ट देखाउँदै आएका छन् ।
जसका कारण पार्कर खेलमा मात्र नभई फिल्ममा समेत उनको माग चुलिँदो छ। ‘हिजो आज फिल्ममा पनि पार्कर खेलको उत्तिकै स्कोप छ। हरेक जसो एक्सन फिल्ममा यसको माग बढ्दो छ। मैले जतिसक्दो ती माग पूरा गर्दै आएको छु।’ –दिनेश भन्छन् । एक ठाउँबाट अर्को ठाउँमा कलात्मक शैलीमा उफ्रिएर जाँदा बीचमा आउने अवरोधलाई सजिलै पार गर्दै अघि बढ्ने असाधारण कला पार्कर हो। फ्रान्सेली सैनिकले बच्न र बचाउन छिटो हुने माध्यमका रूपमा अभ्यास गरेको पार्कर आज पनि उनीहरूको तालिममा सिकाइन्छ ।
पार्कर खेलदेखि त्यही खेलको माध्यमले फिल्ममा समेत छाउन पुगेका दिनेश सानैमा विराज भट्ट र निखिल उप्रेतीका फिल्म हेरेर उनीहरुको नक्कल गर्थे। ‘ममा बाल्यकालमै फिल्म र स्टन्टको प्रभाव थियो। काठमाडौंमा हुँदा बालुवा खानीमा थुप्रो बनाएर उल्टी–सुल्टी हान्ने गर्थें। गाउँ फर्केपछि स्टन्ट गर्ने ठाउँ थुपै्र हुन्थ्यो। तर, टेलिभिजन र फिल्म भने हेर्न पाइँदैन थियो । फरक माध्यमले सिक्थें’, उनले सुनाए– ‘गाउँमा साथीभाइसँग मिलेर खाल्टो खनेर स्टन्ट गर्थें । खाल्टो खनेर त्यसभित्र परालहाल्थें अनि ठाउँ–ठाउँमा माटो थुपारेर स–साना ढिस्को बनाउँथें। त्यहाँ एकदमै स्टन्ट गर्थें। तीन/चार घण्टाको बाटो हिँडेर खोला किनारमा पुगी बालुवाको थुप्रो बनाएर उफ्रन्थें। गाउँमा बालुवा भएको खोलाखासै थिएन। त्यसैले बालुवा भएको खोलापुग्न धेरै समय हिँड्नुपथ्र्यो। खेतका आली, बालुवाको थुप्रो र परालको गुण्टा देख्यो कि जम्प गरिहाल्थें। त्यसरी उफ्रँदा धेरैपटक हात खुट्टा मर्कियो। घरी बटोमाथि घरी बाटोमुनि उफ्रँदा गाउँले सबै झुम्मिन्थे, अनिभन्थे यो मान्छे किन यसरी उफ्रिएको? कस्तो भाङ्जो।’ हुन पनि उनी कति साहसी छन् भने बारीका कान्ला त के घरका छतमा पनि जम्प गर्छन्। भित्तामा टेकेर माथि–माथि चढ्न सक्छन् । उफ्रेरै पर्खाल नाघ्न सक्छन्। ‘त्यसरी गरेको मेहनत अहिले खेलदेखि फिल्म जीवनसम्म काम लागेको छ। यसैबाट चिनिएको छु।’ –सुनार सुनाउँछन्।

कक्षा ७ सम्म काठमाडौंमै पढेका उनलाई त्यसपछि एक्कासि गाउँ फर्कनुपर्ने बाध्यता पर्यो । २०६८ सालको दशैं–तिहारको समयमा गाउँको स्कुलमा भएको भलिबल र नृत्य प्रतियोगितामा दिनेशले तत्कालीन सशस्त्र प्रहरी महानिरीक्षक सनतकुमार बस्नेतका बाबुआमाको स्मृतिमा भएको प्रतियोगितामा पार्कर र स्टन्ट मिसाएर नृत्य देखाएपछि सबै जिल परे। महानिरीक्षक बस्नेतले उनको प्रतिभाबाट आकर्षित भई सुनारलाई हेडक्वार्टरमा बोलाएर सशस्त्र प्रहरीका खेलकुद इन्चार्ज डीएसपी प्रेमकुमार श्रेष्ठलाई उपयुक्त विधामा स्थान दिन निर्देशन दिए। त्यसपछि जिम्न्यास्टिक खेलमा मासिक ३ हजार तलब पाउने गरी उनले ६ महिने करारमा नियुक्त पाए। सशस्त्र प्रहरी कार्यालयले उनलाई राजेश्वरमान प्रधानसँग दशरथ रंगशालामा जिम्न्यास्टिक तालिम लिने व्यवस्था समेत मिलाइदियो। उनको जीवनले नयाँ मोड लियो। ‘जिम्न्यास्टिकको तालिमपछि फुर्सद पाएको समयमा पार्करको अभ्यास गर्थें। २०६९ सालमा सशस्त्र प्रहरीमा आधिकारिक रूपमा नियुक्ति पाएँ। तर, जागिरका कारण पार्कर खेललाई पर्याप्त समय दिन नसकेकाले जागिर छोडें।’ –उनले सुनाए।
आङ नै सिरिङ हुने पार्कर खेलमार्फत विश्वमै नेपालको नाम चम्काउन सफल दिनेशले यही खेलबाटै विभिन्न कीर्तिमान कायम गरेका छन्। अमेरिकामा भएको पार्कर विश्वकपमा आठौं स्थान हासिल गरेका दिनेशको नाम गिनिज वल्र्ड रेकर्डमा समेत दर्ता छ। एक घण्टामा ४ सय ६० पटक ब्याकवार्ड समरसल्ट हानेर विश्वकी र्तिमानी कायम गरेका उनले सन् २०१७ माद मस्ट ट्विस्टिङ ब्याक फिल्प अफ वाल इन वान मिनेटको पहिलो विश्व रेकर्ड कायम गरे। त्यस पश्चात् सन् २०१८ माद मस्ट ब्याकवार्ड सोमरसल्ट एगेन्स्ट वालइन ३० सेकेन्डमा दोस्रो विश्वकीर्तिमान बनाए । दिनेशले ३० सेकेन्डमा द मस्ट ट्विस्टिङ ब्याकफ्लिप अफवालमा तेस्रो विश्व कीर्तिमान बनााए।

दिनेशको सफलताको कहानी जति रोमाञ्चक छ, जीवन कथा त्यति नै संघर्षपूर्ण छ । उनका आमाबुबा गार्मेन्टमा काम गर्थे। परिवारमा आर्थिक संटक परेपछि बुबा रोजगारका लागि बिदेसिए। त्यसपछि आमासँगै उनी गाउँमै फर्किनु पर्यो । खेलदेखि फिल्मी स्टन्टसम्म पार्कर कला प्रदर्शन गर्न सरल भने छैन उनलाई। ‘खेल्दाखेल्दै चोट लाग्न सक्छ। ज्यानै जानपनि सक्छ। दुःखमा हुर्किएका साहसीमात्र पार्कर खेलाडी बन्न सक्छन्’, सुनार सुनाउँछन्– ‘जीवनमा धेरै काम गर्न बाँकी। जे–जस्तो काम गर्छु, मुलुककै लागि गर्नेछु।’
सन् २००७मा गठन भएको वल्र्ड फ्रि रनिङ पार्कर फेडरेसनको सदस्य रहेका दिनेशकै अध्यक्षतामा गत भदौमा नेपाल पार्कर एसोसिएसनप नि गठन भएको छ ।












प्रतिक्रिया