शान्तिका लागि नोबेल पुरस्कार विजयी मलालाको विवाह सम्पन्न

0
Shares

लन्डन, (एजेन्सी) ।

शान्तिका लागि नोबेल पुरस्कार विजेता पाकिस्तानी युवती मलाला युसुफजाईले बेलायतको बर्मिङ्घममा आफ्ना प्रेमीसँग इस्लामिक रीतिरिवाजअनुसार विवाह गरेकी छन् । मंगलबार उनले एउटा ट्विट गर्दै असर मलिक र आफू जीवनभरका लागि विवाहित भएको बताएकी छन् । उनले विवाहलाई आफ्नो ‘जीवनकै एक महत्वपूर्ण दिन’ भएको तथा पारिवारिक जमघटका बीच सानो समारोहमा आफूहरूको विवाह भएको बताएकी छिन् ।

असर मलिक पाकिस्तान क्रिकेट बोर्डअन्तर्गतको नेसनल हाई परफर्मेन्स सेन्टरमा महाप्रबन्धकका रूपमा कार्यरत छन् । मलालाले पनि यसअघि विभिन्न अन्तर्वार्तामा आफू क्रिकेटको ठूलो प्रशंसक रहेको बताउँदै आएकी थिइन् । असरले लाहोरस्थित एचिन्स कलेज र लाहोर विश्वविद्यालयबाट उच्च शिक्षा हासिल गरेका छन् । पीसीबीसँग जोडिनुअघि उनी पाकिस्तान सुपर लिगको एक टोली मुल्तान सुल्तान्ससँग समेत आवद्ध रहेका थिए । गत वर्ष मात्रै पीसीबीले पाकिस्तानमा क्रिकेट विकासका लागि नेसनल हाई परफर्मेन्स सेन्टर गठन गरेको थियो । यसको निर्देशकमा पूर्व टेस्ट क्रिकेटर नदिम खानलाई निर्देशक बनाइएको छ ।

महिला अधिकारकर्मीका रूपमा कार्यरत मलालालाई सन् २०१२ मा तालिवान समूहले टाउकोमा गोली हानेको थियो । त्यसपछि उनलाई उपचारका लागि बेलायतको बर्मिङ्घम लगिएको थियो । सन् २०१४ मा १७ वर्षको उमेरमा नोबेल पुरस्कार पाउने उनी नोबेल पुरस्कार पाउने अहिलेसम्मकै कम उमेरकी हुन् । उनले पाकिस्तानमा बालिकाहरूलाई शिक्षामा पहुँच पु¥याइनु पर्ने भन्दै अभियान चलाएकाले नै तालिवानले उनीमाथि आक्रमण गरेको थियो ।